
इलाम,१९ बैशाख । प्रधान सेनापति प्रभुराम शर्माले इलामस्थित श्री रणशार्दुल गण र ताप्लेजुङ्ग जिल्लास्थित श्री भीमकाली गुल्मको निरीक्षण भ्रमण गरेका छन् ।
भ्रमणको दौरान उनले गण तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी हासिल गरी सकलदर्जाहरुलाई सम्बोधन गरेको सेनाले जनाएको छ । निरीक्षणकै क्रममा, प्रधान सेनापति शर्माले नेपाली सेनाद्वारा, आसन्न ‘स्थानीय तह निर्वाचन–२०७९’ को सुरक्षामा केन्द्रित रही ईलाम जिल्लास्थित दानाबारी ईलाकामा स्थापना गरेको कम्पनी अपरेटिङ बेस (सीओबी ) को पनि निरीक्षण गरे । त्यहाँ पनि उनले सुरक्षाको वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी लिई सीओबीमा तैनाथ सकलदर्जालाई सम्बोधन समेत गरेका थिए ।
दुई दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधान सेनापति शर्माले आज भने झापाको तोपगाछीस्थित श्री न. २१ बाहिनी अड्डा र सिराहा जिल्लास्थित सुखीपुर ईलाकामा स्थापना गरेको सीओबीको निरीक्षण गर्ने कार्यक्रम रहेको जंगी अड्डाले जनाएको छ ।