
झापा,१४ बैशाख । झापाका पत्रकार विनोद सापकोटाले नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
पच्चिस वर्षदेखि झापा लगायत राष्ट्रिय सञ्चार माध्यममा आवद्ध भई कार्यरत पत्रकार सापकोटाले एमाले परित्याग गरि कांग्रेस प्रवेश गरेका हुन् । एमालेको संगठित सदस्य समेत भएका पत्रकार सापकोटा एमाले निकट पत्रकारको प्रेस चौतारीका समेत सदस्य थिए ।
झापा शिवसताक्षी घर भएका पत्रकार सापकोटा नेकपा एमालेको ९औ अधिवेशन, प्रेस चौतारी झापाको गौरादहमा सम्पन्न जिल्ला अधिवेसन देखिनै असन्तुष्टि थिए ।
२०६४ सालदेखि एमालेको संगठित सदस्य भएका सापकोटाले आफूले यसअघि अंगालेको पार्टीमा विधि, पद्धति, प्रक्रिया, नीति र कानूनको पालना नभएको एवं पार्टीभित्र ब्यक्तिवाद र गुट हावी हुन थालेपछि आफू विधि र पद्धतिको पक्षमा उभिदै उक्त पार्टी परित्याग गरेको जनाएका छन् । उनले
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, नारायण प्रसाद बजगाईँ, पर्शुराम ढुँगाना, नगर सभापति अशोक बस्नेतको प्रेरणा र नेपाली कांग्रेसको नीति सिद्धान्त र लोकतन्त्र प्रतिको इमान्दारिताबाट प्रभावित भएर नेपाली कांग्रेसमा प्रवेश गरेको उनले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि एमालेका नाम चलेका पत्रकार मुक्ति पौडेलले पनि एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरिसकेका छन । जिल्लामा आगामी दिन धेरै पत्रकारहरूले एमाले छोडी कांग्रेसमा प्रवेश गर्ने तयारी भइरहेको बुझिएको छ ।