नेतृ सेढाई माथि दुव्र्यवहार भएको गुनासो

दमक,११ चैत । आफनो संस्थाको ७ औ बार्षिक साधारणसभामा सल्लाहकार सदस्यबाट नै आफूमाथि अभद्र व्यवहार भएको कमल- ३ स्थित समावेशी महिला शसक्तीकरण संस्थाकी आजीवन सदस्य सरस्वती सेढाईले आरोप लगाएकी छन् ।
दुई दिन अघि संस्थाको चुनावी साधारणसभामा बोल्ने क्रममा संस्थाका सल्लाहकार छत्रहाङ फागोसहित विरेन्द्र अधिकारी ,ममता श्रेष्ठ गुरुङ लगायतले दुव्र्यवहार गरेको आरोप लगाएकी छन् ।गएको स्थानीय तहको निर्वाचनमा फागो माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार थिए । तर,माओवादीमा राजनीति भविष्य नदेखेपछि केहि महिना अघि मात्र उनीसहित अधिकारी एमालेमा प्रवेश गरेका थिए ।अधिकारी एमाले कमलका उपसचिव हुन् भने फागो एमाले कमलका सदस्य तथा कमल- ३ का इन्चार्ज हुन् ।

शुक्रवार केर्खामा पत्रकार सम्मेलन गरि कांग्रेस जिल्ला सदस्य समेत रहेकी नेतृ सेढाईले संस्थाको आर्थिक प्रतिवेदन उपर जिज्ञासा राख्दा आफूमाथि आक्रमणको प्रयास भएको सुनाईन् । साधारणसभाको उद्घाटन सत्रमा अतिथि रहेकी सेढाईले कोषाध्यक्षको बिना लेखा परीक्षणको प्रस्तुत प्रतिवेदन माथि जिज्ञासा राखेकी थिइन् ।
आर्थिक बिषयमा संस्थाको प्रतिवेदन निष्पक्ष, पारदर्शिता हुनुपर्ने आफनो अडानलाई जर्वजस्त बहुमतको आडमा पेलेर लैजाने उद्देश्यका साथ आफूमाथि आक्रमणको प्रयास भएको उनले बताईन् । उनले भनिन् ,–‘महिलाको कार्यक्रममा केवल निम्ता गरिएका पाहुनाले यसरी आक्रमणको प्रयास गरिनु आपत्तिजनक छ, न्यायका लागि सम्बन्धित निकायसम्म जानेछु ।’
महिला अधिकारको पक्षमा वकालत गरिआएको संस्थाको कार्यक्रममा नै त्यसै संस्थाकी अगुवा महिला माथिको ज्यादती घोर आपत्तिजनक भएको संस्थाकी मनमाया थापाले बताईन् ।
२०७१ सालमा दर्ता भएको उक्त संस्था भित्र राजनीतिकरण भएको भन्दै नेपाली कांग्रेस निकटका सदस्य, आजीवन सदस्यहरुले संस्थाबाट अलगिएको घोषणा गरेका छन् । साधारणसभा एकलौटी ढंगबाट भएको, संस्थाको विधानविपरीत समिति चयन भएको भन्दै नेतृ सेढाईसहित १४ जना सदस्यले उक्त संस्थाबाट अलग भएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published.