दमक गोल्डकप : बाग्मती क्वाटरफाइनमा प्रवेश

दमक ,९ चैत । बागमती युथ क्लब सर्लाही झापाको दमकमा आजदेखि शुरु भएको दमक गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । आयोजक दमक–११ लाई १–० गोल अन्तरले पराजित गर्दै बागमतीले क्वाटर फाइनलको यात्र तय गरेको हो ।
दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा सञ्चालित दमक गोल्डकपको उद्घाटन खेलमा बागमतीका लागि खेलको ८८ औँ मिनेटमा अनिल राना मगरले पेनाल्टीमार्फत गोल गरेका थिए ।
बागमतीका जोमाउलमाथि डिबक्समा फल गरेपछि बागमतीले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै बागमतीले जित पहिलो खेलमा विजयी सुरुवात गरेको हो । घरेलु दर्शको साथ पाएको दमकले पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, स्कोर निकाल्न नसक्दा दमक पराजित हुन पुग्यो ।
आज भएको खेलमा म्यान अफ द म्याच विजयी टोलीका गोलरक्षक मनोज प्रधान घोषित भए । उनले १० हजार पुरस्कार पाए । बुधबारबाट सुरु भएको प्रतियोगितामा चारवटा विदेशी टोलीसहित दश टोलीको सहभागिता छ ।
भोलि बिहीबारको खेल दुर्गापुर सन्डे कोलकत्ता भारत र गोर्खाब्याइज रुपन्देहीबीच हुने आयोजक दमक नगर खेलकुद समितिका अध्यक्ष भीमराज चम्लागाईंले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले रु १३ लाख ११ हजार र उपविजेताले रु ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने खेल संयोजक मोहन मगरले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवाड र प्रशिक्षकले रु २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन प्रदेशसभा सदस्य अर्जुन राईले गरे । १८ चैतसम्म चल्ने प्रतियोगिताको समापन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने आयोजकले जनाईएको छ । गोल्डकप दमक नगरपालिकाको खेलकुद विकास समितिले गरेको हो ।

Leave a Reply

Your email address will not be published.