
झापा, ३ माघ । प्रदेश २ को नाम मधेस प्रदेश तोकिएको छ । सोमबार स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै नामसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो । प्रदेशको नामकरणका सन्दर्भमा सोमबार प्रदेशसभा बैठकमा ‘मधेस’ नामबारे मतदान हुँदा दुई तिहाईभन्दा बढी मतले प्रदेशको नाम ‘मधेस’ स्वीकृत भएको हो ।
संविधानअनुसार प्रदेशको नाम र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले टुङ्गो लगाउनु पर्छ । मधेस प्रदेशको पक्षमा मतदान हुँदा ९९ सांसद उपस्थित भएकोमा प्रस्तावको पक्षमा ८० मतमात्र परेको हो ।यसअघि ३ चैत २०७६ मा भएको मतदान भएपनि प्रदेशको नामाकरण हुन सकेको थिएन ।
स्थायी राजधानी जनकपुर
सोमबार नै प्रदेशसभाले स्थायी जनकपुर टुंगो लगाएको छ । पहिलो बैठकमा भएको मतदानमा ७८ जनाले जनकपुरको पक्षमा मत दिएका थिए ।प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि सुरुमा ७ वटा प्रस्ताव गरेको थियो । पछि त्यसलाई परिमार्जन गरी तीनवटा बनाएको थियो, जसमध्ये जनकपुरमा दुई तिहाइ बहुमत मत प्रकट भएको हो ।
स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढलकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना कायम हुनेछ ।
सभामुख सरोजकुमार यादवले प्रदेशको नाम तोक्नका लागि आवश्यक दुई तिहाई मत पुगेकाले प्रस्ताव स्वीकृत भएको घोषणा गरे । प्रदेशको नाम मधेस पारित भएसँगै नामकरण सम्बन्धमा पेस भएका अन्य प्रस्ताव निस्क्रिय भएका छन् ।