
पथरीशनिश्चरे , ९ मंसिर । मोरङको पथरीशनिश्चरेका बामपन्थी अगुवा एवंम् समाजसेवी तिलक वान्तवा राईको स्मृतिमा प्रकाशित पुस्तकको विहीवार १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले लोकार्पण गरे ।
तिलक वान्तवा राई स्मृति ग्रन्थ -नामक पुस्तकको लोकार्पण गर्दे मुख्यमन्त्री राईले समाज रुपान्तरणका लागि राजनीतिक र सामाजिक रुपमा सक्रिय राईको योगदान ज्यादै महत्वपूर्ण भएको उल्लेख गरे । उनले उनको योगदानलाई पुस्तकमा समेटिएकोमा खुसी व्यक्त गरेका थिए ।
राईको राजनीतिक योगदानका विषयमा डा.देउमान सम्वाहाम्फे र सामाजिक योगदानका विषयमा डा. मोहन तुम्वाहाङले पनि मन्तव्य राखेका थिए । प्रस्तावित रुपमा तिलक वान्तवा राई स्मृति प्रतिष्ठान स्थापना भएपनि त्यसको विधान तयार गरी प्रतिष्ठानलाई दर्ता गर्दै पूर्णता दिन बाँकी नै रहेको छ । स्वर्गीय राईको उनकै परिवारको खर्चमा धर्मपत्नी विष्णुुकुमारी राईले प्रकाशक रहेर ३ सय १६ पृष्ठको पुस्तक प्रकाशित गरिएको छ । पुस्तकमा राईका राजनीतिक, सामाजिक, सहकारी सहितका विविध क्षेत्रको योगदानका बारेमा १ सय २५ जनाको लेख रचना समावेश गरिएको छ ।
विसं २०११ साल कार्तिक १२ गते जिल्लाको तात्कालिन टाँडी गाउँ पञ्चायतमा जन्मिएका राईको कोरोना भाइरसको संक्रमणका कारण ०७७ मंसिर ९ गते निधन भएको थियो । प्रथम पुण्यस्मृतिको सन्दर्भ पारेर पुस्तक लोकापर्ण गर्दै उत्तरपूर्वी मोरङका अगुवा जुझारु व्यक्तित्व राईको योगदानलाई अमर बनाउने काम भएको संविधानसभा सदस्य चण्डीप्रसाद राईले बताए ।
स्वर्गीय राई प्रजातन्त्रको पूनर्वहालीपछि ०४९ सालमा एमालेबाट पहिलो पटक पथरी गाविसको पहिलो गाविस अध्यक्ष निर्वाचित भएका थिए भने २०५४ मा नगरको पहिलो सहकारी मनकामनाका संस्थापक अध्यक्ष भएर २ दर्जन बढी सामाजिक संघ संस्थामा आवद्ध भैं सामाजिक काममा सक्रिय थिए ।