
दमक,९ मंसिर । दमक ५ का आशिष खनालको मिगौला प्रत्यारोपण गर्न आर्थिक सहयोग जुटाउने उद्देश्यले दमकका सामाजिक अभियान्ता काजी राउतले अभियान सञ्चालन गरेका छन् ।
पैसा नभएर विगत दुई बर्षदेखि डाइलोसिस गरिआएका उनको उपचारमा सघाँउन राउतले सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन गरिआएका छन् । होटल व्यवसायी समेत रहेका उनले विरामीको अवस्था देखेर स्थानीयस्तरमा अभियान सञ्चालन गरिएको बताए ।
अभियानमार्फत स्वदेश तथा विदेशमा बस्दैआएका नेपालीहरुबाट सहयोग जुट्न थालेको उनले जनाएका छन् । उनका अनुसार फेसबुकमार्फत विरामीको याचना पोष्ट गरिएपछि मनकारीबाट स्वेच्छिक सहयोग प्राप्त हुन थालेको छ । एक साताको अवधिमा विरामीका लागि ३५ हजार बढी रुपैया संकलन भएको र कम्तिमा २ लाख पुरयाँउने लक्ष्य राखिएको उनले जनाए ।
उनले भने,–‘ विरामीको उपचारमा सघाँउन विभिन्न क्षेत्रबाट धमाधम आर्थिक सहयोग प्राप्त हुने क्रम बढ्दै गएकाले पनि यसले थोरै भएपनि विरामीको उपचारमा सहयोग पुग्ने छ ’
राउतले विरामीका लागि प्राप्त सहयोग रकमलाई थप पारदर्शी र अन्य मनकारीबाट थप सहयोग जुटाउनका लागि फेसबुकमा नै सत्यतथ्य विवरण पोष्ट गरिआएको सुनाए । भन्छन्,–‘विरामीको सहयोगको नाममा भएका विकृति हटाउन आफूले दाताको विवरण उल्लेख गरि तत्कालनै सहयोग रकम सार्वजनिक गरिआएको छु’
मिगौला प्रत्यारोपण गर्न ठुलो खर्च लाग्ने र कमजोर आर्थिक अवस्था भएका खनाल परिवारसंग कुनै आर्थिक स्रोत नभएकाले विरामीको जीवन रक्षाका लागि सहयोग पुरयाँई दिन उनले मनकारीहरुसंग अनुरोध गरे । यसअघि पनि राउतले सामाजिक सञ्जालमार्फत अभियान चलाउदै यस्ता परोपकारी कार्यहरु गरिआएका छन् ।
आर्थिक अवस्था अत्यन्त कमजोर भएका खनाल परिवारले विरामीको उपचारमा याचना गरिआएका छन् । मिगौला प्रत्यारोपण गर्न पैसा नहुदाँ विरामी नियमित डाइलोसिस गरिआएका छन् । प्रत्यारोपण गर्न रकम नहुदाँ काठमाडौको सरकारी अस्पतालमा हप्ताको दुई दिन डाइलोसिस गरिआएको विरामीका पिता धर्मानन्द खनालले बताए । एक श्रीमती,७ बर्षिय छोराका पिता पीडित २६ बर्षिय आशिषको मिगौला प्रत्यारोपण गर्न लाग्ने खर्चमा सहयोग पुरयाँई दिन बृद्धा पिता धर्मानन्दले सबैसंग याचना गरिआएका छन् ।