
पथरीशनिश्चरे, १६ भदौ । मोरङ्गको सुन्दरहरैंचास्थित गोठगाउँको पूर्वपश्चिम सडक खण्डमा टिपरको ठक्करबाट आज दिउँसो एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ६५०३ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको प्रदेश १-०२-०४१ प ९१२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पथरीशनिश्चरे नगरपालिका–२ का ४३ वर्षीय वीरेन्द्र लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका लिम्बूको उपचारको क्रममा धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएको जनाएकोछ ।