जोगवनी रानीदेखि धरानसम्म निर्माण हुने छ लेनको सडक समयमै सम्पन्न गर्न मुख्यमन्त्री को निर्देशन

विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जोगवनी रानीदेखि धरानसम्म निर्माण हुने छ लेनको सडक समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको संयोजनमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । भौतिक पूर्वाधार मन्त्रालयका कार्यभारसमेत सम्हाल्नुभएका मुख्यमन्त्री राईले छ लेन सडकसहित विराटनगर महानगरपालिका अन्तर्गतका मुख्य र भित्री सडकको निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्ने बताउँदै यसका लागि आइपर्ने बाधा व्यवधान र समस्याको निराकरणका लागि प्रदेश सरकार आवश्यक सम्पूर्ण सहयोग गर्नेछ भन्नुभयो ।

जोगवनी रानी–धरान छ लेन सडकको लम्बाई ४९ किलोमिटर छ । उक्त सडक निर्माणका लागि आर्थिक वर्ष ०६९÷०७० मा ठेक्का लागेर आव ०७५÷०७६ सम्ममा सम्पन्न गर्नुपर्ने समय तोकिएको थियो । सो सडकको निर्माण कार्य समयमा सम्पन्न हुन नसक्ने देखिएपछि आर्थिक वर्ष २०७७÷०७८ समयसीमा तोकिएको छ । अहिलेसम्म सो सडकको निर्माण कार्य ३५ प्रतिशत मात्र सम्पन्न भएको छ । बूढी खेलाको पुल निर्माणसहित विभिन्न १५ खण्डमा सडक निर्माण शुरु गरिएको हो ।

रु १२ अर्ब लागत रहेको उक्त सडकको अहिलेसम्म ४० प्रतिशत रकम भुक्तानी भइइसकेको जनाएको छ । उक्त सडकमध्ये इटहरी उपमहानगरपालिका चोकदेखि दक्षिण ८०० मिटर, दुहवी नगरपालिको नेपाल बैंकदेखि दुहवी इनरुवा सडकको ६३० मिटर, कोशी ग्यासदेखि दुहवी पुलसम्म ८०० मिटर र ट्रयाग्रा खोला ५ दशमलव ५ किलोमिटरमा समस्या उत्पन्न भई समयमै निर्माण कार्य सम्पन्न हुन नसकेको ठेकेदार कम्पनीले जनाएको छ ।

सो अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले छ लेन सडक निर्माण कार्य सोचअनुसार अगाडि नबढेको बताउँदै तरहरादेखि धरानसम्मको डिपिआर तयार गर्न निर्देशन दिनुभयो । उहाँले जनतालाई विश्वासमा लिइ स्तरीय र समयमै निर्माण कार्य सम्पन्न गर्न आउने अवरोध समाधान गर्न प्रदेश सरकार सहयोगीको भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो ।
प्रदेशका प्रमुख सचिव केदार न्यौपानेले समयमा निर्माण सम्पन्न सम्बन्धीत पक्षलाई आग्रह गर्नुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सागर राईले सडक, विद्युत्, टेलिकम, खानेपानी कार्यालयबीच आवश्यक समन्वय गरी सडक निर्माणमा अवरोध हटाउनुपर्नेमा जोड दिनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगर विमानस्थलको सडक आगामी पुस १९ गतेभित्र कालोपत्र गरिसकिने जानकारी दिँदै महानगरपालिकाभित्र ४३ किमी सडक कालोपत्र गर्ने कार्य सम्पन्न भएको बताउनुभयो ।

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी र दुहवी नगरपालिका प्रमुख वेदनारायण गच्छदारले छ लेन सडक निर्माणका क्रममा परेका सर्वसाधारणको जग्गा तथा घरको उचित मुआब्जा उपलव्ध गराउनुपर्ने बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणका क्षेत्रीय निर्देशक सच्चिनान्द यादवले प्राधिकरण सडक निर्माणमैत्री रहेको उल्लेख गर्दै सडक निर्माणमा सहयोग गर्न प्राधिकरण २४ घण्टा कार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो । नेपाल टेलिकमका पूर्वाञ्चल क्षेत्रीय प्रमुख अमरनाथ झाले निर्माण कार्यमा संलग्न ठेकेदारले समयमै जानकारी दिए जनताले सञ्चार सेवाबाट बञ्चित हुनुनपर्ने धारणा व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.