नियमित महाधिवेशन पक्षधरहरुले भोलि झापा जिल्ला अधिबेशन गर्दे

झापा, कात्तिक १४ । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरहरुले झापामा भोलि १५ औं जिल्ला अधिवेशन गर्ने भएका छन् ।बिर्तामोडस्थित अग्रसेन भवनमा भोलि बिहान ११ बजेदेखि गरिने जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जिल्ला अधिवेशन प्रचार प्रसार समितिले जनाएको छ । प्रचार प्रसार समितिका संयोजक राजेन्द्र उप्रेतीले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउदले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।

गत वर्षको भदौ २३ र २४ को जेनजी आन्दोलनपछिको बद्लिदो राजनीतिक परिस्थितिमा विशेष महाधिवेशन गरेर गगन थापा सभापति बनेपछि कांग्रेस दुई समूहमा विभाजित छ । कांग्रेसको आधिकारिकताको विषय अदालतमा विचाराधिन छ ।

कांग्रेसका नेता कार्यकर्ताहरु विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षमा विभाजित भएको अबस्थामा नियमित महाधिवेशन पक्षधरहरुले आफूहरुको पक्षमा लगभग पचास प्रतिशत कार्यकर्ता रहेको दावी गरेका छन् । कसको पक्षमा कति कार्यकर्ता छ भनेर आगामी निर्वाचनमा मूल्यांकन गर्न सकिने झापा जिल्ला अधिवेशन तयारी समितिका संयोजक कृष्ण हुमागाईले बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य महिन्द्रा लिम्बू , केन्द्रीय सदस्य तथा कोशी प्रदेश संयोजक गोमा भट्टराई, महासमिति सदस्य भगिरथ पोद्धार, निर्वाचन अधिकृत नारायणप्रसाद पौडेलले पनि जिल्ला अधिवेशनको तयारीका बारेमा जानकारी दिएका थिए ।

नेपाली कांग्रेसको १५ औं नियमित महाधिवेशनअन्तर्गत गत साउन २९,३०, र ३१ गते राष्ट्रिय सम्मेलन सम्पन्न गरेपश्चात् गत भदौ २५ गते पार्टी जिल्ला सचिव कृष्ण हुमागाईको संयोजकत्वमा १५१ सदस्यीय झापा जिल्ला अधिवेशन तयारी समिति गठन गरि जिल्ला अधिवेशनको काम शुरु भएको थियो । यसक्रममा गत भदौ दोस्रो साताबाट १३१ वटा वडा समिति र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न गरिसकेर १५ वटा पालिका, १० प्रदेशसभा क्षेत्र, पाँच संसदीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गरिसकेको हुमागाईले बताए ।

यसक्रममा झापा जिल्लामा ४५८५ क्षेत्रीय प्रतिनिधि, १७५ महाधिवेशन प्रतिनिधि, २०० प्रदेश अधिवेशन प्रतिनिधिको चयन भइसकेको उनले जानकारी दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published.