नेपाल पथ पार्टीमा जिम्मेवारी बाँडफाँट, मंसिर ७ मा दमकमा घोषणा सभा

झापा ,१६ कार्तिक । दुर्गा प्रसाई नेतृत्वको नेपाल पथ पार्टीले संगठन विस्तार र संस्थागत संरचना निर्माणलाई तीव्रता दिने निर्णय गर्दै प्रदेश तथा विभागीय जिम्मेवारी बाँडफाँट गरेको छ। पार्टीको प्रथम केन्द्रीय समिति बैठकले सातै प्रदेशको संगठनात्मक नेतृत्व तथा विभिन्न विभागका प्रमुख र सदस्यहरूको जिम्मेवारी तोकेको हो।
झापाको बिर्तामोडमा पार्टी अध्यक्ष प्रसाईको सभापतित्वमा दुई दिनसम्म चलेको बैठकले आगामी मंसिर ७ गते झापाको दमकमा पार्टीको प्रथम घोषणा सभा गर्ने निर्णयसमेत गरेको छ। बैठकले प्रदेश र जिल्लादेखि स्थानीय तहसम्म संगठन विस्तार गर्ने तथा पार्टीका राजनीतिक उद्देश्य, विचार र कार्यक्रम सार्वजनिक गर्ने कार्ययोजना अघि सारेको छ।

बैठकको निर्णयअनुसार कोशी प्रदेश प्रमुखमा प्रेम थापा मगर, मधेशमा देवी संग्रौला, बागमतीमा दिलिपबहादुर बस्नेत, लुम्बिनीमा माधव कल्पित, गण्डकीमा ऋषि चापागाईं र सुदूरपश्चिममा मीना कँडेललाई जिम्मेवारी दिइएको छ।
प्रदेशस्तरमा संगठन सञ्चालनलाई प्रभावकारी बनाउन उपप्रमुखसमेत तोकिएका छन्। कोशी प्रदेशमा मधुकर सिटौला, सदर सरत तामाङ र शिरिङ डोल्मालाई उपप्रमुखको जिम्मेवारी दिइएको छ। मधेश प्रदेशमा नरेश साह, हरि मैनाली, विद्यालाल गुप्ता र अशोक यादव उपप्रमुख चयन भएका छन्।
त्यस्तै, बागमती प्रदेशमा तेजिन्द्र रायमाझी, दिवाकर मानसिंह बस्नेत र सरु सुवेदीलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ। लुम्बिनी प्रदेशमा शंकर कोइराला, शाहादत्त अलिगद्दी, कमला चन्द, शारदा बिक, करुणा कुँवर र अम्बिका कार्कीलाई उपप्रमुख बनाइएको छ। गण्डकीमा रमेश मल्ल, शान्ति केसी र केयरमान श्रेष्ठ तथा सुदूरपश्चिममा गणेश ताम्राकारलाई उपप्रमुखको जिम्मेवारी दिइएको पार्टीले जनाएको छ।

विभागीय संरचना विस्तार

पार्टीले प्रदेशगत संगठनसँगै विषयगत विभाग गठन गरेर जिम्मेवारी बाँडफाँट गरेको छ। खेलकुद, महिला, सांस्कृतिक, नीति तथा प्रविधि, राजनीतिक प्रशिक्षण, वार्ता तथा संवाद, संगठन समन्वय, आर्थिक तथा वित्तीय पीडित न्याय, राष्ट्रिय सुरक्षा, यातायात, अनुशासन र कृषि क्षेत्रलाई समेटेर विभागीय संरचना बनाइएको छ।

खेलकुद विभागको प्रमुखमा डा.ओमकृष्ण प्रसाई र महिला विभागको प्रमुखमा एनी कुँवरलाई जिम्मेवारी दिइएको छ। महिला विभागको उपप्रमुखमा समुन्द्र लामा, बिमला कँडेल, करुणा कुँवर, दानु थापा, प्रमिला शाही, इन्दु पाण्डे, रमिला सिलवाल, छिरिङ डोल्मा, लक्ष्मी राजवंशी, मीना राउत, बिमला अधिकारी र मीना खाँडलाई जिम्मेवारी प्रदान गरिएको छ।
सांस्कृतिक विभागको प्रमुखमा दिनेश पाख्रिन चयन भएका छन्। उक्त विभागको उपप्रमुखमा राजु श्रेष्ठ, पुष्पराज भण्डारी र ज्ञानेन्द्रकुमार श्रेष्ठलाई जिम्मेवारी दिइएको छ। पार्टीका झण्डा, ब्यानर तथा भौतिक सामग्रीको संरक्षण र व्यवस्थापनका लागि छुट्टै समिति गठन गरी त्यसको प्रमुखमा किशोर आचार्यलाई तोकिएको छ।

नीति, प्रविधि तथा राजनीतिक प्रशिक्षण विभागमा निशान पौडेल, सावित्रा क्षेत्री र रोशन खड्कालाई जिम्मेवारी दिइएको छ। वार्ता, संवाद, समन्वय, संगठन तथा अनुगमन विभागको प्रमुखमा राजु आचार्य र सदस्य सचिवमा रञ्जन खड्का चयन भएका छन्।
त्यस्तै, आर्थिक, बैंक, लघुवित्त तथा सहकारी वित्तीय पीडित न्याय विभागको नेतृत्व देवी संग्रौलालाई दिइएको छ। राष्ट्रिय सुरक्षा विभागमा दुरेन्द्र राई र दानबहादुर नेउपानेलाई जिम्मेवारी दिइएको छ।
यातायात विभागको प्रमुखमा नारायणप्रसाद भट्टराई र अनुशासन विभागको प्रमुखमा दिलिपबहादुर बस्नेत चयन भएका छन्। अनुशासन विभागको सदस्यमा गणेशबहादुर श्रेष्ठ र सचिवमा विजय तिमल्सिनालाई जिम्मेवारी दिइएको छ।
कृषि विभागको प्रमुखमा गणेशलाल डुम्रे र उपप्रमुखमा प्युर महतो चयन भएका छन्। पार्टीको केन्द्रीय सचिवालयको प्रमुखमा माधव कल्पित तथा सदस्यमा गणेशबहादुर श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published.