पथरी ,१३ मंसिर । सवारी दुर्घटनामा परी मोरङको पथरीमा एक युवकको मृत्यु भएको छ ।पथरीशनिश्चरे–१ हरियाली सामुदायिक वन उपभोक्ता समूहको सडक खण्डमा बुधबार साँझ सवारी दुर्घटना हुँदा घाईते अन्दाजी २५ वर्षे युवकको उपचारका क्रममा मृत्युभएको हो । मृतकको पहिचान खुल्न सकेको छैन् ।
दुर्घटनामा घाईते उनलाई उर्लाबारीको मदन भण्डारी ट्रमा सेन्टरमा ल्याइएकोमा उपचारका क्रममा मृत्युभएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
ठक्कर दिने सवारी साधनको अहिले सम्म फरार रहेकाले खोजी कार्य भइरहेको छ भने मृतकको शव पहिचान नखुलेकाले आफन्त तथा परिवारको खोजी कार्य पनि भइरहेको प्रहरीले जनाईएको छ ।
मोरङमा १९८ जना फरार प्रतिवादी पक्राउ
मोरङ । मोरङमा चालु आर्थिक वर्षको साउनयता १ सय ९८ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।प्रहरीका अनुसार चालु आर्थिक वर्षको हालसम्म १ सय ९८ जना फरार प्रतिवादी पक्राउ पर्दा ५३ वर्ष २ महिना ५ दिन कैद र ३५ लाख ५३ हजार ३ सय ६४ रूपैयाँ जरिवाना असुल गरिएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले अपराधमा संलग्नहरु दोषी ठहर भएपनि कैद तथा जरिवाना भुक्तान नगरिकन फरार रहेको बताए । फरार प्रतिवादीलाई पक्राउ गर्नका लागि जिल्लाभर विशेष अभियान चलाइएको जानकारी दिए ।
पछिल्लो २ दिनयता मात्रै जिल्लाका विभिन्न स्थानबाट १५ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अपराधमा संलग्न भएर लामो समयदेखि फरार रहेकाहरु पक्राउ परेका हुन् ।
विदानकुमार राई, अनिल चौधरी, साजन यादव, उमानन्द यादव, जीवन खवास, टंकबहादुर विक, मेखबहादुर तामाङ, मानबहादुर तामाङ, शान्तिदेवी सिंह, श्यावरण सिंह, घनश्याम सिंह, रामविलाश ऋषिदेव, धरमलाल ऋषिदेव, देवकुमार ऋषिदेव र चन्दन ऋषिदेवलाई पक्राउ गरिएको डीएसपी दाहालले बताए । उनका अनुसार पक्राउ परेकाहरु चोरी, लुटपाट, वन पैदावार ओसारपसार, बहुविवाह, सार्वजनिक अपराध र चलन हटक मुद्दामा दोषी ठहर भएका प्रतिवादी हुन् ।
अदालतले दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला गरेको भएपनि भुक्तान नगरिकन भागिरहेकाहरुलाई इलाका प्रहरी कार्यालय रानी, बेलबारी तथा प्रहरी चौकी कटहरीको टोलीले मंगलबार र बुधबार पक्राउ गरेको हो । पक्राउ परेका प्रतिवादीहरुलाई प्रहरीले अदालतमा बुझाउने गरेको छ ।
प्रहरीले बुझाएकामध्ये कैदको फैसला भएकालाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको मोरङ अदालतका सूचना अधिकारी ओमराज सुवेदीले बताए । उनका अनुसार जरिवानाको फैसला भएकालाई त्यसवापतको रकम असुल गरेर छाडिएको छ ।