प्रथम टेन नवोदय फुटबल प्रतियोगिताको उपाधि दाजुभाई एफसीलाई

पथरी शनिश्चरे, ५ असार । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० स्थित प्रस्तावित रंगशालामा सम्पन्न प्रथम टेन नवोदय खुला नकआउट फुटबल प्रतियोगिता–२०८३ को उपाधि दाजुभाई एफसीले उचालेको छ ।

विहिबार भएकोे फाइनल खेलमा टाँडी स्पोर्टिङ एफसीलाई शून्यका विरुद्ध तीन गोलले पराजित गर्दै दाजुभाई एफसी च्याम्पियन बनेको हो। दाजुभाई एफसीका लागि पहिलो हाफमा अप्सन गुरुङले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। खेलको दोस्रो हाफमा दाजुभाई एफसीकै सोनम तामाङ र ओसिन राईले थप एक–एक गोल योगदान गर्दै आफ्नो टिमलाई सहज जित दिलाए ।

प्रतियोगिताको विजेता दाजुभाई एफसीले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता टाँडी स्पोर्टिङ एफसीले नगद २५ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाएको छ । फाइनल खेलको ‘म्यान अफ द म्याच’ दाजुभाई एफसीका अप्सन गुरुङ घोषित भए । उनले नगद २ हजार रुपैयाँ प्राप्त गरे।

विभिन्न विधाहरूमा विजयी खेलाडीहरूलाई पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्ले, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी वीरदत्त पन्त, सशस्त्र प्रहरी बल, पथरी शनिश्चरेका प्रमुख इन्स्पेक्टर रवि प्याकुरेल, नगर खेलकुद विकास समितिका संयोजक दीपक राई, रेडस्टार माध्यमिक विद्यालयका भाइस प्रिन्सिपल बसन्त मादेन तथा भ्वाइस अफ द किड्स सिजन–४ का विजेता निश्चल लिम्बू लगायतका अतिथिहरूले पुरस्कार वितरण गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published.