मेची राजमार्ग र ताप्लेजुङ बन्द फिर्ता

ताप्लेजुङ,१३ मंसिर । एमाले सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई सवार गाडीमा तोडफोड गरेको भन्दै पक्राउ परेका दुई कार्यकर्ता रिहा भएपछि मेची राजमार्ग र ताप्लेजुङ बन्दको कार्यक्रम फिर्ता भएको छ ।
प्रदेश १ पुनः नामांकन संघर्ष समिति संयोजक डम्बर पालुङवाले अनिश्चितकालका लागि घोषणा गरिएको बन्दको कार्यक्रम फिर्ता भएको बताए । ’हाम्रा साथीहरुलाई पक्राउ गरिएको थियो, हामीले विनासर्त छोड्नुपर्छ भनेका थियौं,’ पालुङवाले भने, ’उहाँहरू बुधबार साँझ छुट्नु भयो, फूलमालासहित नगर परिक्रमा गरायौं, आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ ।’
मंसिर १० गते गृह जिल्लाबाट राजधानी फर्कने क्रममा भट्टराई सवार गाडीमा तोडफोड भएको थियो । गाडीको सिसा फुटाइएको थियो । प्रहरीले त्यही अभियोगमा पाथीभरा याङवरक गाउँपालिका–३ तिरिङ्गेका विपिन र आनन्द कङलीवालाई पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरेको विरोधमा प्रदेश १ पुनः नामांकन समितिले मंगलबार मेची राजमार्ग र बुधबार मेची राजमार्गसहित ताप्लेजुङ बन्दको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.