आत्मानन्द कप ८ मंसिरदेखि शुरु

माङसेबुङ, १६ कार्तिक । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सवको अवसरमा यहि मंसीर ८ देखि २० गतेसम्म १६ औं ‘आत्मानन्द कप –२०८० ’ हुने भएको छ ।प्रतियोगिताको आयोजक आत्मपवित्र खेलकुद समितिले आज यहाँ पत्रकार सम्मेलन गरि प्रतियोगिता तयारीका बारेमा जानकारी दिएको छ ।
माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा सञ्चालन हुने अन्तराष्ट्र्रिय फुटबल प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ चर्चित फुटबल टिमहरु सहभागी हुने निश्चित भएको आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।
प्रतियोगितामा नेपालको माङसेबुङ गाउँपालिका इलाम, धनकुटा फुटबल संघ धनकुटा, तिजोक युवाक्लब पाँचथर, छथर गाउँपालिका तेह्रथुम, सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ र गोलबजार स्पोर्टिङ क्लब सिराहा सहभागी हुनेछन् । पाहुना टिमको रुपमा एम.एफ.सी. दार्जिलिङ भारत र बि.वाई.सी. भुटान समेत सहभागी हुने निश्चित भएको आयोजक समितिका अध्यक्ष आङबुहाङले जानकारी दिए ।
प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।
जन्मोत्सवको अवसरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत संचालन हुनेछ । पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत सञ्चालन हुनेछ ।

आत्मपवित्र खेलकुद समितिले किरात धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.