प्रतिपक्षीको आवाज नसुन्दा नागरिकका समस्या समाधान भएनन् : दाहाल

झापा, १६ कातिक । नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले सरकारले प्रतिपक्षीहरुको आवाज नसुनेका कारण नागरिकका समस्या समाधान नभएको दाबी गरेका छन् ।
बिहीबार राष्ट्रियसभामा सम्वोधनका क्रममा उनले गठवन्धनका नामबाट चलेको सरकारले प्रतिपक्षीका आवाजलाई दबाउन खोजेको समेत आरोप लगाए । प्रतिपक्षीले नागरिकका पीर, समस्याजस्ता समसामयिक विषयहरु उठाए पनि सरकार त्यसप्रति उदासिन बनेको दाहालको भनाई छ ।
मूल्यवृद्धि आकासिदा सरकारले नागरिकलाई सहुलियत दिलाउनतर्फ कुनै ध्यान नदिएको, बाढीले जनजीवन समस्यामा पर्दासमेत उपेक्षा गरेको, लम्पी स्किनले पशुधनमा ठुलो नोक्सानी हुँदा समेत किसानलाई राहत उपलव्ध नगराएको भन्दै दाहालले आक्रोश व्यक्त गरे ।
राज्यका संयन्त्रहरु अहिलेको सरकारले कमजोर बनाएको, प्रतिपक्षी दलका शीर्ष नेताहरुमाथि आक्रमण हुँदा र अनर्गल प्रचार भईरहँदा पनि कुनै कारबाही हुन नसकेको नेता दाहालले बताए ।

बेपत्ता नेपालीको उद्धार गर्न नेता दाहालको माग

नेता दाहालले ईजरायलमा भएको आक्रमणमा परि बेपत्ता पारिएका नेपाली विद्यार्थीको अवस्था सार्वजनिक गर्न सरकार समक्ष माग छन् ।ईजरायलमा भएको आक्रमणमा परि बेपत्ता भएका नेपाली विद्यार्थी कञ्चनपुरका बिपीन जोशीको उद्धार गर्ने तर्फ सरकारले कुनै ध्यान नदिएको समेत उनले बताए । घटना परि ज्यान गुमाएका विद्यार्थीहरु प्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दै उनले अहिलेसम्म अवस्था बारे थाह नभएका जोशीको खोजी र उद्धार गर्न तथा अवस्था सार्वजनिक गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
यसै गरि मुगुमा ४ जनाको सामुहिक हत्या भएको एक साता हुँदा समेत घटनामा संलग्नहरु पक्राउ नपर्नु दुःखद भएको भन्दै उनले सो घटनामा संलग्नहरुलाई अविलम्ब पक्राउ गरि कानूनी दायरामा ल्याउन समेत माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published.