झापा, १६ असोज । नेपाली काङ्ग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीको १५औं महाधिवेशन विरोधी कुनै पनि गतिविधिहरुमा नलाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
महाधिबेशन अन्तर्गतका वडा,गाउँ,नगर,क्षेत्रीय अधिबेशनको निर्वाचन प्रक्रियामा सहभागी भई हारजीतको नतिजालाई लिएर पार्टीको हित विपरीतका क्रियाकलापमा कतिपय नेता, कार्यकर्ताहरु संलग्न हुदैआएपछि अनुशासन समितिले त्यस्ता कार्यमा संलग्न नहुन निर्देशन दिएको हो ।
अनुशासन समितिका कार्यवाहक संयोजक रमेश धमलाले अनुशासन विपरीतका अवाञ्छित गतिविधिमा संलग्न नहुन आग्रह गर्दे त्यस्तो पाईएको खण्डमा कारवाहीसम्म हुने चेतावनी दिएका छन् ।
पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहेका पदाधिकारी, निर्वाचनबाट निर्वाचित प्रतिनिधि तथा साधारण क्रियाशिल सदस्यसम्मका कसैलाई पनि पार्टीको हित प्रतिकूल हुने कुनै पनि गतिविधिमा संलग्न नहुन समितिले कडा निर्देशन दिएको छ ।
१५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि पार्टीको हित विपरीतका क्रियाकलापमा संलग्न नहुन पार्टीका सम्पूर्ण तहका नेता तथा कार्यकर्ताहरूलाई सचेत गराइएको छ ।
समितिले निर्वाचन प्रक्रियामा संलग्न भइसकेपछि पनि कतिपय व्यक्तिहरू काङ्ग्रेसकै नाममा पार्टी विरोधी गतिविधिमा लागेको सूचना प्राप्त भएको जनाएको छ । त्यस्ता गतिविधिहरूलाई अत्यन्त गम्भीरताका साथ निगरानी गरिरहेको उनले स्पष्ट पारे ।
कार्यवाहक संयोजक धमलाले पार्टीको मर्यादा र नीति विपरीत गतिविधि नगर्न आह्वान गर्दै अन्यथा समितिले तत्काल आवश्यक कडा कारबाहीको प्रक्रियालाई अगाडि बढाउन बाध्य हुने स्पष्ट पारेका छन्।
वडा,पालिका र क्षेत्रीय तहका निर्वाचन प्रक्रियामा उत्साहजनक रूपमा सहभागी भएकोमा सम्पूर्ण पार्टीका साथीहरूप्रति आभार प्रकट गरेको छ ।
कांग्रेसको संस्थापनमै फर्किए पूर्व राज्यमन्त्री राजवंशी
कोशी प्रदेशका पूर्व राज्यमन्त्री भूमिप्रसाद राजवंशी नेपाली कांग्रेसको संस्थापन पक्षमै फर्किएका छन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौलानिकट मानिने राजवंशी केही समय इतर पक्षमा आवद्ध भएका थिए । कांग्रेस संस्थापन इतर पक्षको हिजोदेखि वडा अधिवेशन शुरु भएको छ । इतर समूहमा घेराबन्दीमा परेपछि प्रदेश सांसद राजवंशी इतर समूह छोडेर संस्थापनमै फर्किएको बताइएको छ । संस्थापन पक्षले उनलाई ससम्मान स्थान दिन लागेको बुझिएको छ ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई लिएर संस्थापन र इतर पक्षबीच गतिविधि तीव्र भइरहेका बेला कोशी प्रदेशसभा सदस्य राजवंशीले आफू इतर पक्षको महाधिवेशनमा सहभागी नभएको स्पष्ट पारेका छन्।
राजवंशीले आफ्नो राजनीतिक निष्ठा कुनै गुट वा व्यक्तिप्रति नभई पार्टीको आधिकारिक र संस्थागत धारप्रति रहेको बताएका छन्।