झापा,१६ असोज । छुट्टाछुट्टै घटनामा परेर उदयपुर र इलाममा दुई जनाको मृत्यु भएको छ । उदयपुरमा उत्तिसको रुखले किचेर एक जनाको मृत्यु भएको छ भने इलाममा घाँस काट्ने क्रममा खोल्सीमा लडेर अर्का एक जनाको ज्यान गएको हो ।
उदयपुरको रौतामाई गाउँपालिका–४ निगालेका ४८ वर्षीय गुञ्जबहादुर राईको रुखले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार दिउँसो २ः३० बजे स्थानीय विदुर रोक्काको मालबासेस्थित बारीमा उत्तिसको रुख ढाल्ने क्रममा सोही रुखले किचेर राई गम्भीर घाइते भएका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी रौतापोखरीबाट खटिएको टोलीले उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पु¥याएको थियो ।
अस्पताल पु¥याउनासाथ चिकित्सकले राति ९ः२० बजेतिर राईलाई मृत घोषणा गरेका थिए ।
त्यस्तै, इलामको फाकफोकथुम गाउँपालिका–१ युकरुम्बाका ६० वर्षीय थिरप्रसाद नेपालको खोल्सीमा लडेर मृत्यु भएको छ । बिहीबार दिउँसो करिब १ बजेतिर घरबाट चियाबारीमा घाँस काट्न गएका नेपाल अचानक खोल्सीमा लडेर घाइते भएका थिए ।
उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।