दमक ,१६ असोज । दमकमा बिहीबारदेखि सञ्चालित कोशी प्रदेश जिल्लास्तरीय प्रथम भेट्रान च्यालेन्ज कप प्रतियोगिताको दोस्रो दिनको खेलमा चन्द्रगढी भेट्रान र काँकरभिट्टा भेट्रान विजयी भएको छ । चन्द्रगढी भेट्रानले मिक्लाजुङ भेट्रानलाई ५–० गोल अन्तरले पराजित गरि क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
दमक–२ स्थित बेलडाँगी खेलमैदानमा भएको खेलको पहिलो हाफको अन्तिम मिनेटमा चन्द्रगढी भेट्रानका कप्तान जर्सी नम्बर ३ का प्रेम लिम्बूले पहिलो गोल गर्न सफल भएका थिए।
त्यस्तै, हाफपछि ६ मिनेटमा चन्द्रगढी भेट्रानका जर्सी नम्बर ११ का खेलाडी मित्र बसन्तले अर्को गोल गर्न सफल भएका थिए। त्यसैगरी चन्द्रगढी भेट्रानका जर्सी नम्बर १० का युगल किशोर राईले हाफ टाइमपछि ११औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
लगत्तै १६औँ मिनेटमा जर्सी नम्बर १८ का सुवास खड्काले गोल गर्न सफल भएका थिए । त्यसपछि तत्कालै चन्द्रगढी भेट्रानका कप्तान जर्सी नम्बर ३ का प्रेम लिम्बूले हाफपछि १७औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता ५ गोलमा पु¥याएका थिए।
चन्द्रगढी भेट्रानले मिक्लाजुङ भेट्रानमाथि गोलको वर्षा गरेको थियो भने मिक्लाजुङ भेट्रानले लज्जास्पद हार बेहोर्नुपरेको थियो। त्यसैगरी सोही दिनको दोस्रो खेलमा काँकरभिट्टा भेट्रानले मिल्स भेट्रान विराटनगरलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।
मिल्स भेट्रान विराटनगर र काँकरभिट्टा भेट्रानबीच भएको खेलमा सुरुवातको दोस्रो मिनेटमै मिल्स भेट्रान विराटनगरका जर्सी नम्बर ८ का सुमित डंगेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
तर, खेलको छैटौँ मिनेटमा काँकरभिट्टा भेट्रानका जर्सी नम्बर ९ का राजु गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको दुई मिनेटपछि अर्थात् आठौँ मिनेटमा काँकरभिट्टा भेट्रानका जर्सी नम्बर १७ का रमेश बस्नेतले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। खेलको २४औँ मिनेटमा काँकरभिट्टा भेट्रानका जर्सी नम्बर १६ का रानु राना मगरले पहेँलो कार्ड पाए ।
दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा काँकरभिट्टा भेट्रानका जर्सी नम्बर १८ का राजु पौडेलले गोल गर्दै टोलीको अग्रता ३–१ बनाए। त्यसलगत्तै दोस्रो हाफको सातौँ मिनेटमा काँकरभिट्टा भेट्रानका जर्सी नम्बर २१ का लिला बहादुर जोशीले गोल गर्दै टोलीको जित ४–१ ले सुनिश्चित गरेका थिए ।
यो खेलसँगै चन्द्रगढी भेट्रान र काँकरभिट्टा भेट्रान प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ भने अब क्वाटरफाइनल खेलमा पहिलो खेल दमक भेट्रान निलो र बिर्तामोड भेट्रान र दोश्रो खेल ढल्के जोवन उर्लाबारी भेट्रान र दमक रातो भेट्रान बीच हुने छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। विजेताले प्राप्त गर्ने १ लाख रुपैयाँ पुरस्कार दमकस्थित माया क्याफेले सौजन्यस्वरूप सहयोग गरेको आयोजकले जनाएको छ ।
अग्रज खेलाडीहरुलाई सम्मान
दमक भेट्रान फुटबल क्लबले प्रथम दमक भेट्रान च्यालेन्ज कप प्रतियोगिताका अवसर पारेर दमकका पूर्व अग्रज खेलाडीहरुलाई सम्मान गरेको छ ।दमक -२ बेलडाँगी खेलमैदानमा सञ्चालित प्रतियोगिताको उद्घाटनका अवसरमा फूटवल खेलका पूर्व राष्ट्रिय खेलाडी गजेन्द्र देवानसहित विभिन्न खेलका आधा दर्जन बढी खेलाडीहरुलाई सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेहरुमा फुटबलतर्फ लक्ष्मी रिजाल, धनजीत राई, हस्तबहादुर दर्लामी मगर, नारदमणी राई, , मीनबहादुर दर्लामी मगर, सुन्दर धिमाल, धिरेन सुब्बा ,बक्सिङका केशर मगर रहेका छन् ।
