सबै जातजाति भाषाभाषीको माग सम्बोधन हुनुपर्छ : विजुक्छे

दमक ,७ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे (रोहित ) ले सबै जातजाति भाषाभाषीहरुको मागलाई सम्बोधन गर्नु सरकारको दायित्व भएको औल्याएका छन् ।
कोशी प्रदेशको नामाकरणमा असहमति जनाउँदै पहिचानवादी समूहले आन्दोलन चलाइरहेको बेला आज दमक आइपुगेका अध्यक्ष विजुक्छेले देशका सबै भाषाहरुको संरक्षण गरि भाषिक,सांस्कृतिक रुपमा बलियो देश निर्माण गर्न जरुरी भएको उल्लेख गरे । सोभियत संघले त्यहाँका सवै भाषाभाषीको विकास गरेर देशलाई बलियो बनाए झै यो देशलाई पनि त्यसरी नै समृद्ध बनाउन सकिने उनको भनाई छ ।
उनले सरकारले जिम्मेवार व्यवहार गर्न नसक्दा अझै पनि नागरिकले आफना हक,अधिकारका लागि आन्दोलित हुनुपर्ने अवस्था आउनु ठिक नभएको धारणा राखे ।विश्व इतिहासको चर्चा परिचर्चामा केन्द्रित भएका अध्यक्ष विजुक्छेले देशभक्त समाजवादी मोर्चाको अभियानमा केन्द्रित हुन नागरिकहरुलाई आव्हान समेत गरे ।
आफूद्धारा लिखित ‘समाज विकासको एक झलक’ र ‘युक्रेनमा नवनाजीवाद ’पुस्तक बारे अन्तरक्रियामा सहभागी हुन प्रमुख वक्ताका रुपमा प्रस्तुत भएका उनले सहभागिहरुसंग राष्ट्रिय, अन्तराष्ट्रिय राजनीतिक परिवेशका बिषयमा समेत अन्तरकृया गरे ।
सो अवसरमा देशभक्त समाजवादी मोर्चाका अध्यक्ष एवं पूर्वमन्त्री गोपाल किराँतीले पूर्वमा चलिरहेको पहिचानको आन्दोलनप्रति समर्थन जनाउँदै यसलाई ठुला दल र सरकारले सम्बोधन गर्नुपर्ने धारणा राखे ।सो पुस्तकमाथि डा. कमल तिगेलासहित नेमकिपाकी संघीय संसद सदस्य सिर्जना सैजु , राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवा, जयराज संयोकलगायतले पनि चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.