दमक,२१ भदौं । लिम्बू जातिमा आफनो मातृ भाषाको मोह घट्दै गएको पाइएको छ भने अन्य जातिमा भने भाषाको मोह बढ्दै गएको देखिएको छ । दमक नगरपालिका वडा न. ७ स्थित पृथ्वी माध्यमिक विद्यालयमा पठनपाठन हुदैआएको ऐच्छिक विषय लिम्बू भाषा अध्ययन गर्ने छात्र छात्राहरुको एक तथ्याङ्कले देखाएको छ ।
उक्त विद्यालयलाई दमक नगरपालिकाले गत शैक्षिक सत्र २०७८-२०७९ देखि लागु हुने गरी लिम्बू भाषा प्रबद्र्धनात्मक हुने गरी एक जना लिम्बू भाषा शिक्षक व्यवस्था गर्ने गरी अनुदान दिदैआएको छ । विद्यालयले एकजना लिम्बू भाषा शिक्षक नियुक्ती गरी १०० पूर्णाङ्कको लिम्बू भाषा ऐच्छिक विषयको रुपमा पठनपाठन गराउदै आएको छ ।
विद्यालयमा कक्षा ४ र ५ मा लिम्बू भाषाको ‘आनीपान ’पाठ्यपुस्तक पढाई हुदै आएको छ । आनीपान सरकारबाट स्वीकृत पाठ्यपुस्तकहरु हुन् । लिम्बू भाषा शिक्षक दिपेन्द्र सेलिङका अनुसार लिम्बू भाषा अध्ययन गर्ने ९० जना विद्यार्थी मध्ये २२ जना मात्र लिम्बू विद्यार्थी रहेको छ भने अन्य गैरलिम्बू रहेका छन् । गैरलिम्बूमा अन्य ६८ जना विद्यार्थीहरुमा राई, क्षेत्री, बाहुन, शाह, मगर, तामाङ लगायतका समुदायका रहेका छन् । उनले भने , –‘ लिम्बू भन्दा गैरलिम्बूका विद्यार्थीहरुमा लिम्बू भाषा पढ्न उत्साहित देखिएको छ । ’ शिक्षक सेलिङले लिम्बू विद्यार्थीहरुले लिम्बू भाषा पढ्न चाहेपनि अभिभावकहरुले लिम्बू भाषा किन पढ्ने भन्दै पढ्न नै नदिएको तितो अनुभव सुनाए ।
दमक नगरपालिका वडा न. ७ का वडा अध्यक्ष भिमप्रसाद पौडेलले लिम्बू भाषा पढ्ने लिम्बू जातिका छोराछोरी कम भएपनि अन्य जातिका छोरा छोरीहरु रुचिका साथ पढ्दै आएको देखेर खुशी व्यक्त गर्छन् । कुनै समुदायको भाषा ती जातिको मात्र पेवा नभएको भन्दै उनले भने ,–‘ भाषा माध्यमबाट अरुको शिक्षामा भएको हरेक मानवी उत्प्रेरक ज्ञान, गुण र व्यवहार सिक्न सकिन्छ जो जीवन पद्धतिमा अत्यन्तै उपयोगी हुन सक्छ । ’
विद्यालयका प्रधानाध्यापक विष्णुकुमार राईले लिम्बु विद्यार्थी केहि कमी भएपनि अन्य जातिले राम्ररी लिम्बू भाषा पढ्दै आएकाले अव आफना मातृभाषा संरक्षणका लागि लिम्बू भाषासँग सम्बन्धित संघ–संस्था, भाषा अभियन्ता र स्थानीय सरकारले यस कार्यक्रमलाई सहयोग पु¥याँउँदै जान सके मात्र भाषा प्रवद्र्धनमा टेवा पुग्ने बताए ।
मातृभाषा पठनपाठनमा जोड दिदैआएको संस्था किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लावतीले लिम्बू भाषा पढ्नमा लिम्बू जातिमा केहि अरुचि भएजस्तो देखिएपनि विस्तारै विस्तारै मोह बढ्दै आएको दावी गर्छन् । अंग्रेजी भाषा मोहले मातृभाषाहरु हराउदै गएको वताउदै उनले अव लिम्बू भाषा प्रवद्र्धनमा स्थानीय सरकारसंगै सवैको योगदान हुन सकेमात्र भाषा संरक्षणमा टेवा पुग्ने उल्लेख गरे ।
याक्थुङ् लेखक संघका कोषाध्यक्ष साङ्सेन पन्धाकले पृथ्वी माविमा अध्ययन गर्ने लिम्बू विद्यार्थीहरुको आंकडा देखेर लिम्बू भाषाको मोह बढाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर अभिभावकमाँझ जानुपर्ने सुझाव दिन्छन् ।
विस २०५८ सालदेखि त्यस विद्यालयमा अनौपचारिक रुपले लिम्बू भाषाको आनीपान पाठ्यपुस्तक पठनपाठन हुदैआएको थियो । एक दशक बढी स्थानीय नन्दा लिम्बूले भाषा प्रवद्र्धनमा टेवा पुरयाँउन पारिश्रमिक विनानै विद्यालयको समन्वयमा ऐच्छिक लिम्बू भाषाको कक्षा सञ्चालन गरिआएकी थिइन् । पाठ्यपुस्तक किरात याक्थुङ चुम्लुङ दमकले उपलव्ध गराउदैआएको थियो ।
लिम्बू समुदाय बाहुल रहेको सो विद्यालयमा अहिले ९ सय बढी विद्यार्थीहरु अध्ययनरत छन् । अंग्रेजी माध्यमबाट पठनपाठन हुदैआएको सो विद्यालयमा ऐच्छिक लिम्बू भाषाको पढाई थप प्रभावकारी बनाउन चासो दिनुपर्ने खाँचो देखिएको छ ।