दमक,८ भदौ । झापाको दमक नगरपालिकाले सञ्चालन गरेको दमक नगर अस्पतालका लागी संघीय सरकारबाट लाखौं रुपैयाँका बिभिन्न स्वास्थ्य उपकरणहरु प्राप्त भएको छ ।
नगर उपप्रमुख रेगिना भट्टराईको बिषेश पहलमा संघीय सरकारको स्वास्थ्य मन्त्रालयबाट करिव रु ३० लाख मूल्य बराबरका विभिन्न स्वास्थ्य उपकरणहरु प्राप्त भएको अस्पतालले जनाएको छ ।
दमक अस्पतालको सेवा विस्तारमा सघाउँ पुरयाँउन लक्ष्यका साथ संघीय सरकारसंग आवश्यक पहल पछि ती सहायता सामाग्रीहरु आज प्राप्त भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण शाहले बताए । प्राप्त स्वास्थ्य सामाग्रीबाट अस्पतालको दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
उनका अनुसार यसरी प्राप्त भएको स्वास्थ्य उपकरणहरुमा १० वटा बेड, एउटा भिडियो एक्सरे मेसिन , एउटा डेलिभरी बेड , पोष्टमार्टम सेट एउटा, सक्सन मेसिन १ सेट, ईसिजी थ्रि डिजिटको १ सेट, ईनटि अपे्रसन १ सेट, सिटिजि कार्डियोग्राफी मेसिन १ सेट लगायत रहेका छन् ।
२०७३ सालदेखि सञ्चालनमा आएको यस सरकारी अस्पतालमा दैनिक ५ सय हाराहारीमा विरामीले स्वास्थ्य उपचार सेवा पाउदैआएका छन् ।