
इटहरी,२६ साउन ।जिल्ला प्रहरी कार्यालय सुनसरीले झन्डै एक महिनाको अवधिमा विभिन्न मुद्दाका २३८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।यसमा पाँच दिनदेखि २० वर्षसम्म कैद सजाय तोकिएका प्रतिवादी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीले साउन १ गतेदेखि अदालतबाट कैद र जरिवाना फैसला भएका तर फरार रहेका अभियुक्तहरूको खोजी सुरू गरेको थियो।
कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरीर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टाचार लगायतमा सजाय तोकिए पनि फरार रहेका प्रतिवादीहरूबाट ४९ वर्ष कैद सजाय फर्छ्यौट भएको छ।
फरार अभियुक्त पक्राउ पर्दा ९ लाख ३५ हजार ३ सय १९ रुपैयाँ जरिवाना समेत असुल भएको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए।
पक्राउ पर्नेमा २०६६ वैशाख १६ गते आफ्नी नातिनी ५ वर्षीया सोशिला कुमारी खत्वेलाई घाँटी बटारेर प्लाष्टिकको बोरामा हाली खेतमा गाडेर भागेका वसन्त खत्वेसमेत रहेका छन्।
उनलाई सम्मानित सुनसरी जिल्ला अदालतबाटट जन्मकैद सजाय तोकिएको थियो।फरार अभियुक्त पक्राउको शृंखला जारी रहेको एसपी थापाले बताए।