ओलीका विश्वासपात्र दमकका दाहाल बने भौतिक पूर्वाधार मन्त्री

दमक,३१ असार । नेकपा एमाले झापाका नेता देवेन्द्र दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन्। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा, दमक- ५ निवासी दाहालले पहिलोपटक मन्त्रीका रुपमा अवसर प्राप्त गरेका छन् । दाहाल अहिले राष्ट्रिय सभामा एमाले संसदीय दलको नेताको जिम्मेवारीमा छन्।दमकबाट मन्त्री बन्ने दाहाल पहिलो नेता हुन् ।

राष्ट्रिय सभाका तत्कालीन संसदीय दलका नेता खिमलाल भट्टराईले राजीनामा गरेपछि दलको विधान, २०७७ बमोजिम ओलीले दाहाललाई मनोनित गरेका थिए । एमाले झापाका अध्यक्ष हुँदै हाल केन्द्रीय सदस्य रहेका उनी विस २०५६ सालको प्रतिनिधिसभाको उपनिर्वाचनमा त्तत्कालीन कांग्रेसका डा. गोपाल कोइरालासंग पराजित भएका थिए । ओलीको निर्वाचन क्षेत्रमा दाहालको त्यो पराजय पछि ओलीकै सल्लाहमा काठमाडौँ केन्द्रित भएर राजनीतिमा सक्रिय भए। उनले ओलीको सचिवालयमा पनि काम गरिसकेका छन्।

यसअघि एमालेकै सांसद रघुवीर महासेठले नेतृत्व गरेको मन्त्रालय दाहालले पाएका छन्।मन्त्री नियुक्त भएपछि सञ्चारकर्मीहरुसंग संक्षिप्त प्रतिकृया दिदै दाहालले भौतिक मन्त्रालयअन्तर्गत गर्नुपर्ने थुप्रै समस्याहरू समाधानमा प्रतिबद्ध भएको बताए। उनले थुप्रै समस्याहरू छन्। राष्ट्रिय गौरवका धेरै आयोजनाहरू अलपत्र अवस्थामा भएकाले पनि ती सवै कामलाई प्राथमिकता दिएर चाडो नतिजा देखिने काम गर्ने प्रतिवद्धता जनाए ।दाहाल राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश १ बाट खुलातर्फबाट विजयी बनेर हाल राष्ट्रिय सभाको सदस्य छन्।

Leave a Reply

Your email address will not be published.