दमक,१९ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक,झापाको भोलि शुक्रवार हुने ३० औं बार्षिक साधारणसभाको तयारी पूरा भएको जनाएको छ ।संस्थाले आफनै सभाहलमा आज पत्रकार सम्मेलन गरि साधारणसभामा प्रस्तुत गरिने बार्षिक प्रतिवदनलाई औपचारिक रुपमा सार्वजनिक गरेको हो ।
प्रतिवेदन पुस्तिका संस्थाका अध्यक्ष रवि केसी न्यौपानेसहित सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु र लेखा समितिका सदस्यहरुले संयुक्त रुपमा सार्वजनिक गरे । प्रतिवेदन सार्वजनिकका क्रममा अध्यक्ष न्यौपानेले दमकबासीलाई स्वच्छ संगै सुलभ मूल्यमा खानेपानी उपलव्ध गराउन यस उपभोक्ता संस्था सदैव प्रतिवद्ध भएको जोड दिए ।
संस्थाका सचिव चन्द्रवहादुर थापाले सञ्चालन गरेको सो पत्रकार सम्मेलनमा अध्यक्ष न्यौपानेले खानेपानीको अवस्था ,भावी योजना लगायतका विषयमा जानकारी गराएका थिए । दमकमा हाल १५ हजार धरधुरीले धारा जडान गरि खानेपानीको सेवा प्राप्त गरिआएका र उपभोक्ताहरुको हितमा टेवा पुरयाँउन आगामी मंसीरदेखि ८ यूनिट सम्म पानी महषुलमा १० घटाई रु ४०, ९ यूनिट सम्मको पानी महषुलमा १४८ रुपैया रहेकोमा ४८ घटाई रु १ सय कायम गरिआएको छ भने १० यूनिट माथिको महषुल दररेटमा समेत छुट गर्ने निर्णय गरिएको अध्यक्ष न्यौपानेले उल्लेख गरे ।
सार्वजनिक प्रतिवेदनका अनुसार संस्थाले सार्वजनिक धारा जडान गर्नेदेखि क्षेत्रगत आधारमा अतिविपन्न ७ घरलाई निशुल्क , १५ घरलाई ५० प्रतिशत छुट सम्म गरि जडान गरिने कार्यक्रम यसवर्ष पनि यथावत गरिएको उल्लेखछ ।
दमक खानेपानीसहित दमकमा उत्तरी क्षेत्रका उपभोक्ताहरुका लागि हम्सेदुम्से र बेलडाँगी खानेपानी संस्था स्थानीय स्तरमा सञ्चालनमा छन् । दमक १० मा खानेपानी वितरणको अन्तिम प्रकृयामा रहेको बाह्घरे खानेपानी आयोजना दमकको मुख्य संस्थामा गाभिएपछि एक दशक ढिलाई भएर पनि बल्ल खानेपानी पुग्न लागेको हो ।दमकमा करिव २० हजार घरधुरी छन् । ती मध्ये करिव ८० प्रतिशत बढीका घरधुरीमा खानेपानीका धारा पुगिसकेको छ । दमकका १० वटा वडामध्ये दमक १,२ , ५, ६ , ७ ,८ ,
९ वडाहरु निकै ठुलो सघन बसोबास मानिन्छन् । ती सघन बस्तीमा यसै संस्थाले पानी वितरण गरिआएको छ । संस्थाले आर्थिक वर्ष २०८२ -०८३ को अवधिमा पानी महषुल वापत ८ करोड,३५ लाख ४५ हजार ३ सय ७८, खर्च ६ करोड ९८ लाख ३८ जार ५ सय ३१, बचत १ करोड ३७ लाख ६ हजार ८ सय ४७ गरि कुल बैंक मौज्दात १६ करोड ७७ लाख २१ हजार १ सय ७५ रुपैया रहेको उल्लेख छ ।
कार्यक्रममा संस्थाका पदाधिकारी , सदस्यहरु, लेखा समितिका सदस्यहरु, सल्लाहकारहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको व्यवस्थापक कृष्ण थापाले बताएका छन् ।