झापा, २९ असार । झापा विद्रोहका क्रममा डेढ दशकभन्दा बढी समय जेल जीवन बिताएका योद्धा अर्जुनधारा नगरपालिका १ का मानकुमार तामाङलाई घर निर्माण गरेर हस्तान्तरण गरिएको छ ।
गुरुपूर्णिमाको अवसरमा आज स्थानीय लेखक र पत्रकारहरूको पहलमा निर्माण गरिएको पक्की घर उनलाई हस्तान्तरण गरिएको पत्रकार तीर्थ सिग्देलले बताए । विसं २०२८ २९ को झापा विद्रोहका क्रममा उनले १७ वर्ष जेल जीवन बिताएका थिए । जीर्ण अवस्थाको कच्ची घरमा बस्दै आएका उनले नयाँ घर पाएपछि खुसी छन् । “व्यवस्था परिवर्तनका लागि जेलनेल भोगेर फर्किँदा जुन खुसी मिलेको थियो, आज नयाँ घरमा प्रवेश गर्दा उस्तै महसुस भएको छ”, उनले भने, “परिवर्तनका जीवन बिताएका योद्धाहरूलाई राज्यले अझै हेरेको छैन, यस्तो अवस्थाको अन्त्य होस् ।”
वि।सं २०४६ मा प्रजातन्त्र पुनःस्थापनापछि कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले राजनीतिक पीडितका लागि केही राहतस्वरुप उपलब्ध गराएको रु ७० हजारले पाँच कठ्ठा ऐलानी जग्गा किनेर बसेको उनले सुनाएका थिए ।
लामो समय जेल जीवन बिताएका योद्धाको अवस्था दयनीय देखेपछि सहयोगका लागि अभियान चलाइएको घर निर्माण समितिका सदस्य सिग्देलले बताए । ‘अभियान चलाएपछि विभिन्न दाता, पत्रकार, लेखकको पहल र सहयोगमा बस्नका लागि घर निर्माण गरिएको हो’, उनले भने ‘ निर्माणमा अहिलेसम्म १० लाख खर्च भइसकेको छ , घरमा चाहिने आवश्यक सरसामान पनि जुटाउने कोसिस गरिरहेका छौ ।’
योद्धा तामाङको घर निर्माणमा पत्रकार सिग्देलसँगै लेखक कुमार भट्टराई, दीपिन राईलगायतका सञ्चारकर्मी जुटेका थिए ।