दमक,१८ असार । दमक उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजस्व कार्यालय दमकको सहकार्यमा बिहीबार दमकमा कर छुट सुविधा र राजस्व सम्बन्धी अन्तरकृयात्मक छलफलसहित सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सरकारको आर्थिक विधेयकले व्यवस्था गरेको कर छुट सुविधा र राजस्वसम्बन्धी विषयमा केन्द्रित रहेर उक्त अनुशिक्षण कार्यक्रम आयोजना गरिएको हो।
दमक उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष भगवान बस्नेतको अध्यक्षतामा तथा आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख सूर्यबहादुर कुँवरको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा दमक क्षेत्रका १ सय भन्दा बढी स्थानीय व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको थियो। नेपाल सरकारले आर्थिक विधेयकमार्फत ल्याएका कर छुटका नवीनतम व्यवस्थाहरू र राजस्व बुझाउने प्रक्रियाका बारेमा व्यवसायीहरूलाई विस्तृत रूपमा सुसूचित गराइएको थियो।
कार्यक्रममा प्रमुख कर अधिकृत सूर्यबहादुर कुँवर तथा कर अधिकृत मनिष भट्टराईले प्राविधिक सत्रको सहजीकरण गरेका थिए । सो अवसरमा सहजीकरण गर्दै उनीहरूले करदाताहरूले राज्यबाट पाउने छुट तथा सुविधाहरूको अधिकतम उपयोग कसरी गर्ने र कानुनी प्रक्रियाहरू कसरी सहज रूपमा पूरा गर्ने भन्ने विषयमा व्यवसायीहरूका जिज्ञासाको प्रस्टीकरण पारेका थिए ।
कार्यक्रमका अध्यक्ष तथा संघका कार्यवाहक अध्यक्ष भगवान बस्नेतले यस्ता सचेतना कार्यक्रमले व्यवसायीहरूमाझ करसम्बन्धी अन्योलता हटाई राज्य र निजी क्षेत्रबीचको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा व्यवसायीहरु शंकर बस्नेत, गणेश प्रधान , रिङ कुमार आचार्य ,नन्द कुमार राइ लगायतले कर छुट सुविधाका विभिन्न विषय तथा करका समस्या हल गर्न कार्यालयमा हेल्प डेक्स राख्नु पर्ने औल्याएका थिए । कार्यक्रम संघका प्रथम उपाध्यक्ष रुवल अधिकारीले सञ्चालन गरेका थिए ।