झापामा आठ सयभन्दा बढी युवा दुर्व्यसनको उपचार गराउँदै

झापा ,१८ असार । लागू औषधको दुर्व्यसनमा फँसेका आठ सय भन्दा बढी युवा हाल झापाको विभिन्न पूर्नास्थापना केन्द्रमा उपचार गराइरहेका छन् । भारतको खुला सीमाका कारण पछिल्लो समय झापामा लागू औषधको दुर्व्यसनको समस्या भयावह रुपमा देखिएको छ । दिनहुँ प्रहरीले सीमा नाका, ठूला बजार र ग्रामीण वस्तीबाट युवाहरुलाई लागू पदार्थसहित नियन्त्रणमा लिने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले जनाए अनुसार झापाका २७ वटा पूर्नास्थापना केन्द्र अद्यावधिक रहेका छन् । जसमा ८४५ जना युवा हाल उपचाररत् छन् ।
जिल्लाको मेचीनगर र विर्तामोडमा छ वटाका दरले पूर्नास्थापना केन्द्र सञ्चालनमा छन् भने शिवसताक्षीमा चार वटा, दमकमा तीन वटा, कनकाईमा तीन वटा, अर्जुनधारामा दुई वटा, कमलमा दुई वटा र बुद्धशान्तिमा एउटा पूर्नास्थापना केन्द्र अद्यावधिक रहेको सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले बताए ।

जिल्ला प्रशासन कार्यालयको अद्यावधिक तथ्यांक अनुसार विर्तामोडका पूर्नास्थापना केन्द्रमा सबैभन्दा बढी २२३ जना युवा उपचाररत् छन् । मेचीनगरमा १७८ जना, शिवसताक्षीमा १०५ जना, दमकमा ८९ जना, कनकाईमा ८२ जना, कमलमा ७३ जना, अर्जुनधारामा ५५ जना र बुद्धशान्तिमा ४० जनाले लागू औषधको दुर्व्यसनको मुक्तिका लागि उपचार गराइरहेका छन् ।
मेचीनगर नगरपालिका वडा नं. ६ काँकडभिट्टास्थित नवयात्रा पूर्नास्थापना केन्द्रका सञ्चालक भीमप्रसाद लुइँटेलले केन्द्रमा हाल ३३ जनाको उपचार भइरहेको बताए ।
समाजले बिग्रियो भनेर वेवास्ता गरेको र परिवारको विश्वास गुमाइसकेको अवस्थामा दुर्व्यसनमा लागेको युवालाई सुधारेर स्वस्थ बनाएर फेरि परिवार र समाजमा पूर्नास्थापना गर्ने कार्य सहज नभएको उनले बताए ।

“राज्यले गर्नुपर्ने काम हामीले गरिरहेका छौं,” बिगत १३ वर्षदेखि पूर्नास्थापना अभियानमा सक्रिय लुइँटेल भन्छन् –“सीमावर्ती क्षेत्रमा यो समस्या बिकराल भइसकेको छ । राज्यले यो विषयमा गम्भीर हुन ढिला भइरहेको छ ।”
पूर्नास्थापना केन्द्रहरुले ती महिने र छ महिने कोर्स पूरा गर्ने गरी दुर्व्यसनमा लागेका युवाहरुको आवासीय सशुल्क उपचारको व्यवस्था गर्दै आएका छन् । केन्द्रमा आवासीय उपचार गराउन आउने युवालाई दुर्व्यसन छुटाउन दिनहुँ परामर्श कक्षामा सहभागी गराउने, नियमित स्वास्थ्य परीक्षण गराउने र हरेक दिन योगा तथा ध्यान समेत गराउँदै आएको नवयात्रा पूर्नास्थापना केन्द्रका सञ्चालक लुइँटेलले उल्लेख गरे ।

 

Leave a Reply

Your email address will not be published.