झापामा बाढी प्रभाव : ९ परिवारलाई सुरक्षित स्थानान्तरण, डेढ दर्जन प्रभावित

दमक , ४ असार । झापाका विभिन्न स्थानमा बर्षाका कारण सोमबार रातीदेखि डेढ दर्जन बढी घर परिवार प्रत्यक्ष प्रभावित भएका छन् । जिल्लाको दक्षिणवर्ती ग्रामिण क्षेत्रमा सर्वसाधारण बर्षाका कारण प्रभावित भएका हुन् ।
जिल्लाको कचनकवल ५ खुटटगञ्जका चार घर परिवार प्रभावित भएका हुन् । प्रहरीका अनुसार सो ठाउँका कुञ्जी राजवंशीको तीन जनाको परिवार पूर्ण रुपमा विस्थापित भएका छन् । उनीहरु स्थानीय प्रभा राजवंशीको घरमा आश्रय लिएर बसेका छन् ।
स्थानीय देवी राजवंशी एक जनाको परिवार, कार्तिक राजवंशीको पाँच जनाको परिवार र सञ्जय राजवंशीको चार जनाको परिवार डुबानका कारण जोखिममा परेका छन् । त्यसैगरी झापा गाउँपालिका वडा नं ६ को युवा टोलका चार परिवारलाई सुरक्षित स्थान तर्फ सारिएको छ ।
शरणामती बजार क्षेत्रबाट १४ किलोमिटर उत्तर पश्चिममा रहेका दिपक आचार्यको परिवारका ७ जना, सीता दुलालका चार जनाको परिवार, प्रदिप सिंहका तीन जनाको परिवार र नविन बराइलीको चार जनाको परिवारलाई स्थनीय केदार श्रेष्ठको घरमा सुरक्षित स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
चट्याङ लागेर घाईते, दुई ठाउँमा आगलागी
मंगलबार बिहान बर्षासँगै परेको चट्याङले लागेर एक महिला घाईते भएका छन् । मेचीनगर १५ कालिका झार बस्ने २१ बर्षिया रञ्जिता हाँस्दा बिहान ३ बजे परेको चट्याङ लागेर घाइते भएकी हुन् । उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । चट्याङले लागेर झापा गाउँपालिका वडा नं २ सडकबारीमा बिष्णुबहादुर बुढाथोकीको घरमा आगलागी हुँदा एक लाख बराबरको नोक्सान भएको छ । त्यस्तै सोही गाउँपालिकाको ३ नम्बर वडामा पर्ने गौरीगाउँका धनप्रसाद पौडेलको परालमा चट्याङका कारण आगलागी भएको छ ।
अर्जुनधारमा पहिरो, खानेपानीको मुहानमा क्षति
बर्षासँगै पहिरो जाँदा अर्जुनधारा २ लाप्चेटारमा पुष्पा समाल मगरको घरमा क्षति पुगेको छ । सो घरका मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।
अर्जुनधाराको वडा नं १ मा खानेपानीको मुहानमा क्षति पुगेको छ भने वडा नं २ मा पर्ने राते भन्ने ठाउँमा मदन भण्डारी राजमार्ग उत्तर तर्फका १० घर डुबानमा परेका छन् । लाप्चेटार सहकाले जाने सडक अवरोध भएको छ भने खेतीयोग्य जमिन गोयाङ र टाङटिङ नदीले कटान शुरु गरेको छ । त्यस्तै वडा नं ३ मा सुखानी खोलाको कज्वेमा क्षति पुरयाउँदा आवागमन बन्द भएको रेडक्रस झापाका सभापति ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.