
दमक,२ असार । नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालको एक नम्बर प्रदेश नेतृत्वले झापा, मोरङ र इलामको चुलाचुली १ कमलमा बसोबास गर्ने पूर्व जनमुक्ति सेना नेपालको परिवारलाई खाद्यान्न राहत प्रदान गरेको छ ।
पार्टी तथा संगठनका नेता ,कार्यकर्ता तथा शुभेच्छुक व्यवसायीहरुबाट संकलन गरिएको कूल १५० बोरा चामल र ६ बोरा चिउरा बुधबार घर घर पुगेर वितरण गरिएको वाइसिएलका प्रदेश संयोजक पुलामीले जानकारी दिए ।
कोरोना महामारी र जारी निषेधाज्ञाका कारण समस्यामा परेका सहयोद्धाको परिवारलाई थोरै भएपनि राहत पुगोस भन्ने उद्धेश्यले पार्टी र संगठनको केन्द्रीय नीति अनुसार सो राहत प्रदान गरिएको उनले बताए ।
राहत हस्तान्तरणमा वाइसीएलका प्रदेश तथा जिल्ला नेतृत्वसहित पार्टी जिल्ला कमिटी सचिवालय सदस्य दुर्गा चौंलागाइँ लगायतको उपस्थिति रहेको थियो ।
सोहि टोलीले माओवादी जनयुद्धका घाईते पूर्व जनमुक्ति सेना सिक्सम लिम्बुको निवासमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो । ४७ बर्षिय लिम्बु तत्कालिन राजा ज्ञानेन्द्र शाहले गराएको निर्वाचनको अघिल्लो दिन धनकुटामा सुरक्षाकर्मीसंगको भिडन्तमा घाईते भएका थिए । उनको शरीर चल्न नसक्ने अवस्थामा छ ।
दमकका सुकुम्बासीलाई वाइसिएलको सहयोग
यसैबीच दमक ७ मा स्थानीय सरकारद्धारा घर टहरा भत्काइएपछि समस्यामा परेका ७ परिवारलाई वाइसिएलले चामल प्रदान गरेको छ ।
ती सुकुमबासी परिवारलाई प्रति परिवार एक÷एक बोरा चामल राहत स्वरुप प्रदान गरेको हो । सो सहायता सामग्री पीडित परिवारलाई घर भत्काइएको स्थलमै पुगेर हस्तान्तरण गरिएको वाइसीएलका प्रदेश संयोजक पुलामीले वताए ।