धिमे बाजा बजाउन सिकाउँदै दमक नगरपालिका

दमक, २८ जेठ । झापाको दमकमा नयाँ युवा पुस्तालाई धिमे बाजा बजाउन सिकाउनका लागि तालिम सुरु गरिएको छ । दमक नगरपालिकाको सहयोगमा नेवाः देय दबूँ नगर समितिको संयोजनमा तालिम सुरु गरिएको हो ।

नेवार संस्कृतिमा ‘गर्भदेखि चिहानसम्म’ यो बाजाको महत्त्व रहेको बताइन्छ । कुनै पनि चाडपर्व, पर्व वा अनुष्ठान सङ्गीत बिना चल्दैन । विशेषगरी नेवारहरू माझ धिमे सबैभन्दा लोकप्रिय र प्रचलित सङ्गीत हो । पछिल्लो समयमा विभिन्न औपचारिक कार्यक्रमहरूमा विभिन्न जातजातिहरूको भेषभूषा र बाजागाजा प्रस्तुत गर्ने क्रम पनि बढ्दै गएपछि यसप्रति आकर्षण पनि बढ्दो छ ।
दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईका अनुसार स्थानीय सरकार स्थानीय जातजातिहरूको मौलिक संस्कृति र पहिचानको संरक्षणका लागि सधैँ तत्पर रहेको बताईन् । नगरपालिकाले धिमाल जातीलाई पहिलो नागरिक घोषणा गरिसकेको उल्लेख गर्दै आफूहरू मौलिक संस्कृति जगेर्नाका लागि आवश्यक नीति नियम बनाएर अघि बढ्ने प्रतिबद्धता पनि भट्टराईले जनाईन्।

उनले भनिन्, -‘ यहाँ रहेका सबै जातजातिहरूको मौलिक संस्कृति र पहिचानलाई सम्बद्ध गर्ने उद्देश्यले नेवार समुदायको लोकप्रिय धिमे बाजा बजाउने तालिम आयोजना गर्नका लागि सहयोग गरिएको हो । ’ नयाँ पुस्ताहरू बाजा बजाउन आकर्षित देख्दा खुसी लागेको उनले सुनाईन्।

Leave a Reply

Your email address will not be published.