झापा ,२० जेठ (एजेन्सी ) । भारतको ओडिसामा रेल दुर्घटना हुँदा कम्तीमा दुई सय ८० जनाको ज्यान गएको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।
घटना शुक्रबार राति भएको थियो । घाइतेको उद्धारका लागि दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको ओडिसाको प्रमुख सचिव प्रदीप जेनाले बताएका छन् ।उक्त घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको एक भएको समाचारमा जनाइएको छ । स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् ।घटनाको अनुसन्धान गर्न एक समिति गठन गरि समितिले काम सुरु गरिसकेको केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव जानकारी दिएका छन् ।
एक दिने राजकीय शोकको घोषणा
ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले रेल दुर्घटनापछि राज्य दिवस मनाउने कार्यक्रम रद्द गर्दै एक दिने राजकीय शोकको घोषणा गरेका छन्। रेल दुर्घटनाको विषयमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जी आज ओडिशाको भ्रमण गर्न लागेकी छन् । रेलवेको खड़गपुर डिभिजनका डीआरएमका अनुसार रेल दुर्घटनापछि कम्तीमा १३ वटा ट्रेन या त डाइभर्ट गरिएको छ ।
भारतीय रेलमन्त्री वैष्णव दुर्घटनास्थल पुगेका छन् । उनले ट्विट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै सरकारका तर्फबाट मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् । त्यस्तै उपचारका लागि गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने पनि उनको घोषणा छ ।भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।