रतुवा खोलामा भेटिएकी युवतीको पहिचान खुल्यो

दमक,१७ जेठ । दमकको रतुवा खोलामा बोराभित्र बाँधिएको अवस्थामा मृत फेला परेकी युवतीको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक दमक नगरपालिका–८ बसन्तटोल निवासी २१ वर्षीया रोमा भन्ने रमा तिवारी रहेको पुष्टि भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाले आइतबार दिएको जानकारी अनुसार रमा तिवारीको शव उनका बुवा नारायण तिवारी र आमा मुना तिवारीले हेरेर सनाखत गरेका हुन्। परिवारका सदस्यले शव पहिचान गरेपछि मृतकको परिचय खुलेको प्रहरीले जनाएको छ।

यसअघि दमकस्थित सेतुमारी पुल नजिक रतुवा खोलामा बोराभित्र बाँधिएको अवस्थामा एक युवतीको शव फेला परेको थियो। शवको अवस्था शंकास्पद देखिएपछि प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा रमा तिवारी जेठ १३ गते राति करिब ९ः३० बजे घरबाट आफूखुसी निस्किएको र त्यसपछि घर नफर्किएको खुलेको प्रहरीले जनाएको छ। परिवारका सदस्यले उनी घरबाट बाहिरिएपछि सम्पर्कविहीन भएको बताएका छन्।

शव फेला परेपछि घटनास्थलबाट प्रमाण संकलन गरिएको र घटनामा संलग्न व्यक्तिको पहिचान तथा पक्राउका लागि विभिन्न कोणबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Leave a Reply

Your email address will not be published.