फरार प्रतिवादी श्रेष्ठ २३ वर्षपछि पक्राउ

इलाम,११ कार्तिक । कर्तव्य ज्यान मुद्धाका इलामका एक प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् ।यति धेरै वर्षपछि पक्राउ परी कारागार चलान हुनेमा इलाम चुलाचुली गाउँपालिका वडा नं. ३ बस्ने कमल भन्ने प्रेमकुमार श्रेष्ठ रहेका छन् ।
२०६१ फागुन १ गते राति बलबहादुर लिम्बुको घरबाट कुखुराको भाले चोरी भएको थियो । त्यस विषयमा भोलिपल्ट फागुन २ गते अभियुक्तमध्ये अशोक राईको विवाह भोजमा मिलेमतो गरी बलबहादुर लिम्बुको घर घेरा हालेका थिए । त्यस क्रममा अमित केरुङ समेत भई खुकुरी, रोल , भाटासमेतले बलबहादुरका छोरा शुक्रप्रसाद लिम्बुलाई मार्ने मनसायले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइतेलाई धरान घोपामा लगी उपचार गराउने क्रममा २०६१ चैत २ गते मृत्यु भएको थियो ।
त्यस ज्यान मुद्दाका प्रतिवादी चुलाचुली ३ बस्ने कमल भन्ने प्रेमकुमार श्रेष्ठ समेतलाई इलाम जिल्ला अदालतको मिति २०६६ कात्तिक १६ गतेको आदेशले ५ बर्ष कैदको फैसला सुनाएको थियो । त्यसपछि सर्वोच्च अदालतको मिति २०६८ चैत २४ गतेको आदेशले जिल्ला अदालत इलामको फैसलालाई नै सदर गरेको थियो ।
तर घटनाका प्रतिवादी श्रेष्ठ फरार भएका थिए । प्रतिवादी श्रेष्ठलाई खोजतलास गर्ने क्रममा गत कात्तिक ४ गते दिउँसो २ बजे घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
उनलाई पक्राउ गरी सोमवार अदालतमा पेश गर्दा अदालतको आदेशले लागेको कैद भुक्तान गर्न कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.