दमक,१३ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्वास्थ्यमन्त्री भुपेन्द्र राई सहितको टोलीले झापाको लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालको अनुगमन तथा निरीक्षण गरेका छन् ।
कमल गाउँपालिका -७ गेउरियामा रहेको सो आयुर्वेदिक अस्पतालको मुख्यमन्त्री,स्वास्थ्य मन्त्रीसहितको सरकारी अधिकारीहरुको टोलीले स्थलगत निरीक्षण गरेको हो ।
मन्त्रीसहित कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेल, स्वास्थ्य सचिव राधिका थपलिया, संविधान सभा सदस्य दीपक कार्की लगायतका सहभागि थिए ।
निरीक्षण गर्दै मुख्यमन्त्री कार्कीले सेवाका विषयमा अस्पतालका कर्मचारीहरुलाई आवश्यक निर्देशन दिए । उनले आगामी आर्थिक वर्षको बजेटबाट अस्पताललाई पूर्ण रुपमा सञ्चालन हुने गरेको व्यवस्था गरिने बताए । उनले औषधी उत्पादनको समेत लक्ष्य रहेको भन्दै उहाँले यसका लागि कोशी प्रदेश सरकारले विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयसँग सहकार्य गर्न चाहेको उल्लेख गरे ।
कोशी प्रदेश सरकारले वैकल्पिक स्वास्थ्य सेवाका रुपमा आयुर्वेदिक अस्पतालहरुलाई उच्च प्राथमिकता दिँदै आएको छ । आयुर्वेदिक अस्पतालको सेवा सुविधा विस्तार गर्दै लैजाने प्रदेश सरकारको योजना रहेको मुख्यमन्त्री कार्कीले जोड दिए ।
। अनुगमन निरीक्षणका क्रममा स्वास्थ्यमन्त्री राईले पूर्वीय चिकित्सा पद्धतिका रुपमा परिचित आयुर्वेद चिकित्साको महत्व दिनप्रतिदिन बढ्दै गएको बताए । निरीक्षणमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका प्रतिनिधिहरु समेत सहभागी थिए ।