पथरीशनिश्चरे भेट्रान लिग फुटबल प्रतियोगिताको उपाधि वडा नं २ ले चुम्यो

पथरीशनिश्चरे, २५ वैशाख । मोरङको पथरीमा सञ्चालन भएको पथरी शनिश्चरे भेट्रान लीग फुटबल प्रतियोगिताको फाइनल खेलमा वडा नं २ ले उपाधि चुमेको छ।सोमबार पथरी शनिश्चरे वडा नं १ को पञ्चायत माविको खेल मैदानमा सम्पन्न भएको सो प्रतियोगितामा आयोजक वडा नं २ ले वडा नम्बर ४ विरुद्ध २-१ को अन्तरले पराजित गर्दै उपाधि उचालेको हो।
पथरी शनिश्चरे वडा नं २ को कार्यालयद्वारा आयोजित सो प्रतियोगितामा निर्धारित समयको १० औं र १८ औं मिनेटमा वडा नं ०२ का क्याप्टेन मदन राईले प्रहार गरेका बल जाली चुम्दै विजयको लागि पर्याप्त बनेका थिए। उनले आफ्नो टिमलाई २-० को अग्रता दिलाए भने वडा नम्बर ४ का खेलाडी यादव राईले ४१ औं मिनेटमा गरेको गोलले २ -१ को अन्तरमा घटाए। त्यसपछि दुवै टिमका थुप्रै प्रयासहरू निष्प्रभावी बनेका थिए ।
निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक आजको प्रतियोगितामा वडा नम्बर २ का टिम क्याप्टेन मदन राई म्यान अफ द म्याच घोषित हुनुका साथै सर्वाधिक गोलकर्ता पनि बने । नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले वडा नं २ का क्याप्टेन राईलाई मेडल तथा ट्रफी सहितले पुरस्कृत गरेका थिए ।प्रतियोगिताका विजेता वडा नम्बर २ को टिमलाई नगद ५० हजार रुपैयाँ, रउपविजेता वडा नम्बर ४ लाई नगद २० हजार रुपैयाँ, मेडल तथा ट्रफीले पुरस्कृत गरिएको थियो।
उक्त खेलमा बेस्ट गोलकिपर सन्तोष राई घोषित भए भने बेस्ट डिफेन्स विजय राई किम्जो, बेस्ट मिडफिल्डर लोकेन्द्र राई ,बेस्ट फरवार्ड सूर्य शिवा, मेन अफ द सिरिज जोन सुब्बा घोषित भएको खेल संयोजक तथा वडा नम्बर २ का वडाध्यक्ष नैना साम्पाङ राईले जानकारी दिए।
गत चैत १६ गतेदेखि सञ्चालन भएको उक्त वडास्तरीय भेट्रान लिग फुटबल प्रतियोगितामा ३५ वर्ष उमेरका खेलाडीहरूले सहभागिता जनाएका थिए।सो प्रतियोगिताको सुरूवातमा देवी भजन कीर्तन मण्डली वार्ड नं ३ को महिला नौमती बाजा समुहद्वारा नौमती बाजाका विभिन्न भाकाहरू प्रस्तुत गरिएको थियो।
उक्त प्रतियोगिताको अवसरमा वडाध्यक्षहरू क्रमशः नवीनजंग कार्की ,लोककिरण न्यौपाने, चेतेन्द्र खड्का, कार्यपालिका सदस्य कल्पना श्रेष्ठ, ईप्रका पथरीका प्रहरी निरीक्षक तथा निमित्त प्रमुख सुशिलकुमार पाण्डे, लगायत उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published.