दमकको मदनडाँगी–ताराबारी डिपु सडकको काममा तीव्रता

दमक,१४ बैशाख । झापाको दमक नगरपालिका अन्तर्गतको मदनडाँगी–ताराबारी डिपु सडकको कामले तिव्रता पाएको छ । सडक निर्माणको जिम्मा पाएको कनकाई इन्टरनेशनल विल्र्डस प्रालिका इन्जिनियर ंगंगाराम कोइरालाका अनुसार दमकको नमूना सडकका रुपमा बन्दै गरेको निर्माणाधीन यस सडकको छ महिनाको अवधिमा ३५ प्रतिशत बढी सम्पन्न भएको छ । ४.८६५ किलोमिटर लामो यस सडकको लागत रु ४४ करोड २४ लाख १५ हजार ५२७ रहेको छ ।
१५ मिटर चौडाईको यस सडकमा पर्ने २१ वटा कल्भर्ट ,पुल मध्ये अहिले १४ वटा कल्भर्ट र आरसीसीसहितको नालाको काम तयार भइसकेको छ । अहिले सडक ग्रेडिङको काम र ढल निर्माणसँगै धमाधम कल्भर्ट निर्माण कार्य भईरहेको उनले जानकारी दिए ।
दमक २, ३ , ४ र ५ वडामा पर्ने दमकको मध्य भागको यस सडक विसं २०८२ असारसम्ममा सडक निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तोकिएको समयभन्दा अगाडी नै निमार्ण कार्य सम्पन्न गर्नेगरी कामलाई तिव्रता दिदै आएको उनको भनाई छ ।
उनले भने,– ‘उपभोक्ता समिति र स्थानीयको सहयोगका कारण पनि निर्माण कार्य सम्पन्न गरिने लक्ष्य राखेको छौं । त्यसका लागि दैनिक विहानदेखि साँझसम्म काममा लागेका छौं ।’
नगरप्रमुख रामकुमार थापाले विश्व बैंकको सहयोगमा बन्दै गरेको सडक सडक दमककै हालसम्मको नमुना सडक बन्ने दावी गर्छन् । उनले देशभरकै १७ वटा पालिकामध्ये दमक नगरपालिकामा पनि विश्वबैकको योजनामा सो सडक परेको भन्दै सो सडक दमककै उदाहरणीय र नमूना बन्ने बताउँछन् । उनका अनुसार सडकको बीचमा हरियाली क्षेत्रको व्यवस्था गर्न एकै लहरका विरुवा रोपिने योजनामा उल्लेख गरिएको छ भने दुवै छेउमा पैदल यात्री र साइकल लेण्डसमेतको ब्यवस्था गरिने गरी निमार्ण कार्य भइरहेको छ । सडकको दुवैतर्फ बिजुली बत्तीको जडान गरिने र नाला निर्माण गरिने भनिएको छ ।
दमक नगरपालिकाका इन्जिनियर अनन्त सेनेहाङले सो सडक दमककै नमुना बन्ने भएकाले पनि यस पछि भित्री भेगका नागरिकलाई वजारसम्म आउजाउ गर्न सुविधा पुग्ने बताउँछन् । यस सडक सम्पन्न हुँदा दमक पश्चिमी क्षेत्रका स्थानीयलाई प्रत्यक्ष लाभान्दित हुने उनको भनाई छ ।
स्थानीय उपभोक्ता समेत रहेका प्रथम नागरिक धिमाल ब्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर धिमालले निर्माणाधीन यस मदनडाँगी–ताराबारी डिपु सडकको काम निर्धारित समयमै र गुणस्तर बन्नेमा आशा पलाएको बताउँछन् । पछिल्लो समय कामले गति लिएका कारण पनि यस सडक समयमा सम्पन्न पछि स्थानीयलाई सहज हुने उनको भनाई छ ।
निर्माण समितिका सदस्य भुवन ढकालले कामको गुणस्तर र निर्माण कार्यमा लापरवाही नहोस् भनेर समितिका सदस्यहरु समेत पालैसँग दैनिकजसो निमार्ण भइरहेको ठाउँमा जाने गरेको र गुणस्तरीय बनाउन ठेकदारसँग छलफल गरिरहेको जानकारी दिए ।
यसैवीच, नगर प्रमुख थापासहित, इन्जिनियर र स्थानीय सरोकारवालासहितको टोलीले निमौणाधीन सडकको स्थलगत अनुगमन गरेको छ ।

Leave a Reply

Your email address will not be published.