विराटनगरका स्पामा छापा , सञ्चालकसहित ३६ जना नियन्त्रणमा

विराटनगर ,१२ बैशाख । विराटनगरका विभिन्न स्थानमा सञ्चालित स्पा तथा मसाज सेन्टरमा प्रहरीले छापा मारेर सञ्चालकसहित दर्जनौ युवतीलाई पक्राउ गरेको छ । स्पाको आवरणमा अनैतिक क्रियाकलाप हुने गरेको जनगुनासो बढेपछि शनिबार प्रहरीले विशेष स्विप अप्रेसन चलाउदै स्पा सञ्चालकसहित ३६ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए ।

उनका अनुसार विराटनगर महानगरपालिकाका वडा नम्बर १३, १४ र १५ मा सञ्चालित विभिन्न स्पाहरूमा गरिएको खानतलासीका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दुई जना सञ्चालक समेत रहेका उनले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक कबिन राईको नेतृत्वमा खटिएको टोलीले विराटनगर–१४ स्थित ‘किपु स्पा’ मा छापा मार्दा कानुनी मापदण्ड पूरा नगरेको पाइएको थियो । उक्त स्पाका सञ्चालकद्वय सुनसरी बर्जु गाउँपालिका–१ की ३० वर्षीया निलमदेवी शर्मा र भारतको पटना जिल्ला घर भएका ४० वर्षीय राजकुमार चन्द्रवंशीलाई प्रहरीले पक्राउ गरेको छ । साथै, सोही स्पामा कार्यरत अन्य तीन जना महिलालाई पनि नियन्त्रणमा लिइएको छ ।

प्रहरीका अनुसार अनुमति बिना सञ्चालन गरिएका र अनैतिक कार्यमा संलग्न रहेको आशंकामा अन्य स्पाहरूबाट पनि व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका ३६ जनामाथि सोधपुछ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय विराटनगरका सीमावर्ती क्षेत्र र मुख्य बजारमा खुलेका कतिपय स्पा तथा मसाज सेन्टरहरूले मापदण्ड विपरीत गतिविधि गर्ने गरेको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । प्रहरीले यस्ता अवैध गतिविधि रोक्न निगरानी बढाउने बताएको छ ।

Leave a Reply

Your email address will not be published.