पूर्वका सहकारीमा चोरी गर्ने गिरोह समातिए

दमक,८ बैशाख । झापासहित पूर्वका एक दर्जनभन्दा बढी सहकारीमा चोरी तथा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार इटहरीबाट ६ जनाको समूहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।

झापासहित पूर्वका सहकारीहरुमा श्रृङखलावद्ध चोरी गर्ने समूहलाई झापा प्रहरीले सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।इटहरीबाट पक्राउ उनीहरुलाई झापा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । झापा र सुनसरी प्रहरीले संयुक्त रुपमा उनीहरुलाई पक्राउ गरेको बुझिएको छ । उनीहरुले चोरी गरेको विवरण र पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाइएको छैन् ।

सो समूहले चैत ५ गते राति गौरादह -९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रबाट करिब १२ लाख नगद र सरसामान चोरी गरेको थियो । पक्राउ परेको समूहले झापामा मात्रै विभिन्न १३ स्थानमा लुटपाट गरेको पाइएको छ ।
सहकारीहरुमा लगातार चोरी र तोडफोडको घटनाप्रति झापा जिल्ला सहकारी संघले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण समेत गराएको थियो ।

Leave a Reply

Your email address will not be published.