२४५ जनाले लिए बाँझोपना समस्याबारे सेवा

दमक,१ बैशाख । दमकस्थित ऊँ मेची अस्पतालमा निःसन्तान दम्पतीहरुका लागि शुक्रवार सञ्चालन गरिएको बाँझोपना सम्बन्धी स्वास्थ्य परीक्षण तथा परामर्श शिविरमा २ सय ४५ जनाले सेवा लिएका छन् ।
दमक ७ स्थित सो अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमसहित स्त्री रोगको उपचार तथा प्रसुति सेवा प्रदान गर्दै आएकोमा तीन बर्ष यता निःसन्तान दम्पत्तीलाई लक्षित गरेर बर्षमा एक दिन सञ्चालन गर्दै आएको यस किसिम शिविरमा सो संख्यामा लक्षित दम्पतीले सेवा लिएका अस्पतालले जनाएको छ । एक दिने सो शिविर भारतको सिलगुढीस्थित न्यूलाइफ फर्टीलिटी सेन्टरको प्राविधिक सहयोग रहेको थियो ।
अस्पतालमा यसअघि पहिलो पटक १५० र दोश्रो पटक करिब २ सय जनाले यो सेवा लिएकोमा यसबर्ष भने ह्वात्तै बढेर २४५ जना पुगेको अस्पतालका अध्यक्ष समेत रहेका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. निरञ्जनसिंह बोगटीले जानकारी दिए । निःसन्तानको समस्या समाजमा बढ्दो रुपमा छ भन्ने यो तथ्याङकले पनि पुष्टि गर्छ –डा. बोगटीको भनाई छ ।
अस्पतालका अर्का स्त्री रोग विशेषज्ञ डा. शंकरप्रसाद हुजदारले परामर्शका लागि आएका सबै दम्पत्तीलाई उपचारकै खाँचो छ भन्न मिल्दैन उनीहरुलाई उपयुक्त परामर्शको पनि जरुरी हुन सक्छ त्यसकारण हामीले आवश्यकता अनुसार परामर्श प्रदान गरेका र आवश्यक हुनेलाई उपचारको प्रकृयामा पनि लैजाने शिविरको लक्ष्य रहेको बताए ।

Leave a Reply

Your email address will not be published.