झापा स्पोर्टस अवार्ड : जबेगु र मगरलाई ‘उत्कृष्ट खेलाडी’ सम्मान

झापा, ३० चैत । नपाल खेलकुद पत्रकार मञ्च झापा शाखाले महिला बक्सिङकी त्रिशा जबेगु र तेक्वान्दोका रोशन मगरलाई ‘वर्ष उत्कृष्ट खेलाडी’बाट सम्मान गरेको छ ।विसं २०७९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गरेको खेल कौशलका आधारमा बिहीबार साँझ विर्तामोडमा आयोजित ‘पाँचौँ स्पोर्टस् अवार्ड’ कार्यक्रममा मञ्चले खेलाडीद्वयलाई सम्मान गरेको हो ।
वर्ष उत्कृष्ट खेलाडी घोषित दुवैले जनही नगद रु एक लाख र ट्रफी प्राप्त गरे । सोही अवसरमा मञ्चले नेपालकी प्रथम ओलम्पियन मेनुका राउतलाई रु ५० हजार राशीको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरेको छ ।
पत्रकारिताको माध्यमबाट खेल क्षेत्रको विकासमा योगदान पुर्याए वापत मञ्चले पत्रकार रमेश समदर्शीलाई ‘उत्कृष्ट खेल पत्रकार’बाट सम्मान गरिएको छ । उनलाई सम्मानस्वरुप नगद रु ३५ हजार प्रदान गरिएको हो ।फिफा रेफ्री श्याम दनुवारलाई ‘स्पेसल अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । उनलाई नगद रु २५ हजार र ट्रफीले सम्मान गरिएको हो ।
यसैगरी, ‘वर्ष उत्कृष्ट युवा खेलाडी’ सम्मान पौडीका प्रारम्भ भण्डारी, ‘पिपल्स च्वाइस अवार्ड’बाट क्रिकेटकी राष्ट्रिय खेलाडी रुविना क्षेत्री र उत्कृष्ट प्रशिक्षकका रूपमा बक्सिङका डम्बर लिम्बूलाई सम्मान गरिएको छ । उनीहरुलाई जनही रु २५ हजार नगद प्रदान गरिएको हो ।नेपाल खेलकुद पत्रकार मञ्चले २०७३ सालदेखि ‘झापा स्पोट्र्स अवार्ड’ प्रदान गर्दै आएको छ ।मञ्चका झापा अध्यक्ष इन्द्रजित मुखियाले देशका निम्ति समर्पित भएर लागेका खेलाडीलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिइने बताए ।

Leave a Reply

Your email address will not be published.