ताप्लेजुङ,२६ चैत । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा एक दिन शनिबार मात्र सार्वजनिक बिदा दिने भएको छ ।
गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन) का अनुसार गाउँपालिकामा शनिबार मात्र सार्वजनिक बिदा हुने छ भने आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा कार्यालय सञ्चालन हुने छ । उनका अनुसार कार्यालय समय बिहान १० देखि साँझ ५ बजेसम्म यथावत रहने छ ।
त्यसैगरी, अत्यावश्यक कामका लागि बिदाको दिनमा समेत कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था आएमा कर्मचारीलाई अतिरिक्त प्रोत्साहन (इन्सेन्टिभ) उपलब्ध गराएर सेवा निरन्तरता दिइने व्यवस्था गरिएको छ। यसले सेवाग्राहीलाई सहज रूपमा सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
चार दिन अघि बालेन शाह नेतृत्वको केन्द्रीय सरकारले सातामा २ दिन विदा दिने निर्णय गरेको थियो ।पेट्रोलियम पदार्थको बजारभाउ आकासिएपछि संघीय सरकारले परीक्षणका रूपमा सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने र कार्यालय समय बिहान ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरेको थियो।