गौरादहमा वृद्धाको हजुरआमाको हत्या, नातिसहित चार पक्राउ

गौरादह ,१ चैत । झापाको गौरादहमा एक वृद्धाको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ । वृद्धा हजुरआमाको हत्या आरोपमा प्रहरीले नातिसहित चार जनालाई बुधबार दिउँसो पक्राउ गरेको छ । झापा गौरादह नगरपालिका–७ निवासी ८२ वर्षीया वृद्धा नरमाया विकको हत्या आरोपमा नाति १७ वर्षीय धिरज विकसहित चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए । प्रहरीका अनुसार फागुन २५ गते शिवरात्रिको दिन मध्यरात लागुऔषध सेवन गरेका धिरजले वृद्धा हजुरआमा नरमायाको टाउको रड प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । एसपी केसीले हत्या पश्चात् उनको शव ग्वालीमा लगेर पुरेका अवस्थामा फेला परेको बताए। पाँच दिनदेखि आमा हराइरहेको भन्दै उनका छोरा रमेश विकले बुधबार बिहान प्रहरीमा उजुरी दिएका थिए ।

नाति धिरजले हत्या गरेको प्रहरी समक्ष स्वीकार गरिसकेको सो घटनामा उनका साथीहरु टंक दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई पनि नियन्त्रणमा लिएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published.