झापामा ‘केपी ओली रोड रेस ’–२०८० हुने

दमक १६ फागुन । शहीद दिवसका अवसर पारेर झापामा ‘केपी ओली रोड रेस ’–२०८० आयोजना गरिने भएको छ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस ) कोशी प्रदेश कमिटीले मंगलवार दमकमा पत्रकार सम्मेलन गरि केपी ओली रोड रेस प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।
महासंघका प्रदेश कमिटी अध्यक्ष राजकुमार दाहालले यहि फागुन २१ गते जिल्लाको चारपानेदेखि सुखानीसम्म करिव ११ किलोमिटर लामो रोड रेस हुने भएको र त्यसका लागि आवश्यक तयारी तीव्र पारिएको जानकारी दिए । आफना पार्टी अध्यक्षको नाममा महासंघले गतवर्षदेखि खेलकुदका विभिन्न गतिविधिहरु सञ्चालन गरिआएको छ । सडक दौडका विजेताले नगद ५१ हजार, उपविजेताले ३१ हजार,तृतीयले २१ हजारसहित उत्कृष्ठ दश खेलाडीलाई नगद ,प्रमाणपत्रसहित पुरस्कृत गरिने उनले जनाएका छन् । महिला र पुरुष दुवैले सोहि पुरस्कार पाउने आयोजक खेलकुद महासंघले जनाएको छ ।
दौड सम्पन्न गर्न विभिन्न एक दर्जन बढी विभागीय उपसमितिहरु गठन गरि तयारी तीव्र पारिएको रोड रेस मूल व्यवस्थापन समितिका संयोजक समेत रहेका महासंघ प्रदेश अध्यक्ष थापाले जानकारी दिए । रोड रेसमा देशभरिका करिव एक हजार धावकले सहभागिता जनाउने अनुमान गरिएको महासंघका प्रदेश सचिव भिम लिवाङले जानकारी दिए ।
सो रोड रेस सम्पन्न गर्न करिव ८ लाख ५ हजार खर्च लाग्ने र त्यसका लागि पार्टी निकट शुभेच्छुक , खेलप्रेमीहरुबाट सहयोग प्राप्त हुने अपेक्षा गरिएको उनले बताए ।
नेकोस केन्द्रीय सचिव बिप्लव घोषको प्रमुख आतिथ्यतामा भएको सो पत्रकार सम्मेलनमा पार्टी जिल्ला कमिटीका कार्यवहाक अध्यक्ष प्रेम गिरी, प्रदेश सचिवालय कमिटी सदस्य होमबहादुर थापा, जिल्ला सचिव शिव ढुंगेल, नेकोस केन्द्रीय सचिव सन्तोष वान्तवा राई, नेकोस झापा इन्चार्ज दिपेश सुवेदी लगायत नेकोस प्रदेश,जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.