विदेश पठाउन भन्दै नक्कली भिजा र टिकट देखाएर २ लाख ठगी, पैसा फिर्ता माग्दै उल्टै धम्क्यायो दलालले

दमक/ झापाको दमक १० की भगवती दर्नालले झण्डै दुई बर्ष अघि आफनो छोरालाई विदेश पठाउन भन्दै एक जना दलालले लगेको कूल २ लाख रुपैयाँ अझै फिर्ता पाउन नसकेको गुनासो गरेकी छिन ।
दर्नालका अनुसार झापाको कमल साविक लखनपुरका रञ्जित धिमालले छोरा इजरायल दर्नाललाई कतार पठाउने भन्दै तीन पटक गरी २ लाख रुपैयाँ लगेको र विदेश समेत नपठाई ठगी गरेको भन्दै न्यायका लागि अपिल गरेकी हुन । उनले दमकमा पत्रकार सम्मेलन गरी धिमालले पैसा फिर्ता नदिएको बिषयमा आफू इलाका प्रहरी कार्यालय दमक हुँदै जिल्ला प्रशासन कार्यालय झापामा समेत धाउँदा पनि फिर्ता पाउन नसकेको बताएकी हुन । उनले नगद ५० हजार र पासपोर्ट माइती गाउँका एक जना भाई मार्फत धिमाललाई दिएको र पछि २५ हजार र १ लाख ५० हजार रुपैयाँ भने आइएमइ मार्फत धिमालकै नाममा पठाएको प्रमाण समेत सार्वजनिक गरेकी हुन ।
गएको असोज सम्म धिमालले विभिन्न भाका राखेर पैसा फिर्ता गर्ने आश्वासन दिएको र कैयौं पटक पैसा माग्दा पैसा खाएको बिषय पत्रकार र प्रहरी प्रशासनमा पुरयाउँदैमा आफूलाई केही नहुने बताउने गरेका थिए । पत्रकार , पुलिस सबै मैंले चिनेको छु तैंले केही गर्न सक्दिनस भन्दै आफूलाई धम्क्याउने गरेको पनि उनको आरोप छ । निजको मोवाइलमा सम्पर्क समेत हुन नसकिरहेको उनले बताइन । धिमालले उनका छोरा इजरायललाई नक्कली भिजा र टिकट देखाएर झुक्याउँदै काठमाडौं सम्म पुरयाई एक महिना सम्म कोठामा थुनेर राख्दा छोरानै बिरामी परेको पनि उनले बताइन ।

Leave a Reply

Your email address will not be published.