अव पनि रास्वपालाई भोट दिने गल्ती नगरौं : किराती

माङसेबुङ ,१ मंसीर ।  श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले आगामी स्थानीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पुनः मतदान नगर्न मतदातालाई आग्रह गरेका छन्। रास्वपालाई सत्ताको चाबी सुम्पेर जनताले गल्ती गरिसकेको भन्दै उनले त्यही गल्ती दोहो¥याउन नहुने बताएका हुन्।
पाँचथर र इलामका माङसेबुङ तथा मिक्लाजुङ गाउँपालिकाको संयुक्त आयोजनामा भएको हातेमालो कार्यक्रममा बोल्दै किरातीले स्थानीय तहमा समेत रास्वपाले समर्थन पाए पार्टी अझ सर्वसत्तावादी बन्ने दाबी गरे।
उनले रास्वपाको सिद्धान्त संघीयताविरोधी रहेको तर नेपाली जनता संघीयताको पक्षमा रहेको टिप्पणी गरे। जनताकै आन्दोलन र चाहनाबाट संघीयता आएको उल्लेख गर्दै उनले यसको रक्षा पनि जनताले नै गर्ने बताए।
जेनजी विद्रोह सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध भएको भए पनि त्यसपछि भ्रष्टाचार घट्न नसकेको र नागरिकले सुशासनको अनुभूति गर्न नपाएको किरातीको भनाइ थियो। उनले विद्रोहपछि राजनीतिक सत्ता र नेतृत्वमा पुस्तान्तरण भएको दाबी गरिए पनि बिचौलियाको क्षेत्रमा समेत पुरानाको ठाउँ नयाँ पुस्ताले लिएको टिप्पणी गरे।
पहिले दीपक भट्टजस्ता उमेरले पाका व्यक्तिहरू बिचौलियाको भूमिकामा रहेकोमा अहिले इनमजस्ता युवा त्यस स्थानमा पुगेको किरातीको भनाइ छ । बिचौलियाहरूले वस्तु वा सामानको कारोबारभन्दा शक्ति बेच्ने र सत्ताको दोहन गर्ने गरेको उनले आरोप लगाए ।
किरातीले जनताको नजिक रहेर काम गर्ने पार्टीले मात्रै देशको विकास गर्न सक्ने दाबी गर्दै श्रम संस्कृति पार्टीले भविष्यमा नेतृत्व पाए ‘थ्रीडी मोडल’मार्फत विकास गर्ने बताए ।

Leave a Reply

Your email address will not be published.