पाडाजुंगी,१२ माघ । झापाको कमल गाउँपालिकामा सञ्चालित अन्तरपालिका कर्मचारी फूटवल प्रतियोगिताको आज सम्पन्न दोश्रो दिनको खेलमा कमलसहित बिर्तामोड र शिवसताक्षी विजयी भएको छ ।
कमल गाउँपालिकाले आयोजना गरको प्रतियोगिताको शनिवार भएको तीन खेलमा मेचीनगरलाई हराउदै विर्तामोड ,दोश्रो खेलमा झापा गाउँपालिकालाई हराउँदै कमल गाउँपालिका विजयी भयो भने तेस्रो खेलमा हल्दिवारी गाउँपालिकालाई पाखा लगाउदै शिवसताक्षी नगरपालिका विजयी भएको छ । यो जितसंगै तीनै विजयी टिम दोश्रो चरणमा प्रवेश गर्न सफल भएको छ ।प्रतियोगिता कमल -५ गुहेश्वरी स्थित दमक लखनपुर भेट्रान खेलमैदानमा सञ्चालित छ ।
माघ ११ गतेदेखि शुरु भई १९ माघसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिनको खेलमा गौरादहलाई हराउँदै अर्जुनधारा , दोस्रो खेलमा वुद्धशान्तिलाई हराउँदै भद्रपुर नगरपालिका विजयी भएको थियो । प्रतियोगितामा झापाका १५ वटा पालिकाले भाग लिएको प्रतियोगिताका सहसंयोजक दिपेन्द्र लामिछाने जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने पालिकाले नगद १ लाख रूपैयाका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने द्वितीय हुनेले नगद ५० हजार रुपैयाँका साथैमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
त्यस्तै विधागतमा पुरस्कार अन्तर्गत मेन अफ द म्याचले ट्रफी र अन्य विधा अन्तर्गत मेन अफ द टुर्नामेन्ट,बेस्ट किपर, बेस्ट डिफेन्डर, हाई स्कोरर गर्ने खेलाडीलाई जनही नगद ६ हजार ६ सय छैसठ्ठी रुपैयाँ पाउने छन् । प्रतियोगिताको भोलि आइतवार कचनकवल र बाह्दशी गाउँपालिका बीच खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गरेका थिए । उद्घाटनमा पालिका उपाध्यक्ष प्रमिला न्यौपाने,प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकाल ,पालिकाका कर्मचारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।