पथरीशनिश्चरे,१ माघ । मोरङ, पथरीशनिश्चरे नगरपालिकाकी शान्ति राईले छोरीको दुवै मृगौला फेल भएपछि उपचारका लागिअपिल गरेकी छिन् ।पथरीशनिश्चरे – ९ खरेल डाँडा निवासी शान्तिले आफना १७ बर्षिया छोरी सलिना राईको दुवै मृगौला फेल भएपछि उपचारका लागि सवैसंग याचना गरेकी हुन् ।
आर्थिक अवस्था निकै नाजुक रहेको राई परिवार अहिले उपचार गराउँदा भएभरको जेथो सकिएपछि छोरीको जीवन बचाइदिन उनले सबैसँग सहयोगको याचना गरिआएकी छन्।
२०८१ जेठदेखि बिरामी परेकी छोरी सलिना स्थानीय भागिरथ मावि कक्षा–१२ मा पढ्दैछिन् । पाँचजनाको परिवारको गुजारा र छोरीको डाइलासिस गर्दा लाग्ने खर्च जुटाउन नसकेर राई परिवारलाई निकै समस्या परेको छ ।
हाल सलिनाको बुढीगंगास्थित विराट टिचिङ हस्पिटलमा नियमित डाइलासिस भइरहेको बुबा विपिनले बताएका छन् । ‘डाइलासिस निःशुल्क भएपनि रगत दिँदा, केही औषधी र सुई लगाउनु पर्दा पैसा आफैंले तिर्नुपर्छ । हप्ताको दुई पटक डाइलासिस गर्नुपर्छ । त्यतिबेला कम्तिमा तीन हजार रुपैयाँ खर्च लाग्छ । ’ विपिनले समस्या सुनाउँदै भने, ‘छोरीलाई बचाउन डाइलासिसले मात्र हुँदैन । मृगौला नै प्रत्यारोपण गर्नुपर्छ । छोरीको ब्लड ग्रुपसँग मेरो मिल्छ तर प्रत्यारोपण गर्ने खर्च हामीसँग छैन् । कसरी छोरी बचाउँ , उपायहरू नै भएन ?’
छोरीको दुवै मृगौला फेल भएपछि उनी अहिले उपचारका लागि सबैसँग सहयोगको अपिल गरिहेका छन् । ुआफ्नो एउटा मृगौला छोरीकोमा प्रत्यारोपण गर्न चिकित्सकले १० लाख रुपैयाँ खर्च लाग्ने सल्लाह दिएका छन् ु( उनले जनाए ।
आफुसँग भएको सबै रकम सकिएर साथीभाइसँग सरसापटी गरी उपचार गर्दा अहिलेसम्म ६ लाख रुपैयाँ खर्च भइसकेको विपिनले सुनाए । छोरीको उपचार खर्च जुुटाउन विपिन वैदेशिक रोजगारीका लागि गत साउनमा दुवइ पुगेका थिए । तर छोरीको अवस्था नाजुक बन्दै गएपछि परिवारको आग्रहमा उनी ३ महिनामै असोजमा नेपाल फर्किए । उनको रोजगारी गुमेको छ । आफ्नो रोजगारी गुमेपछि छोरीको उपचार गराउन ज्यादै सकस परेको विपिनले बताए ।
‘डाक्टरले जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गर्न सल्लाह दिएका छन्,’ विपिनले भने, ‘तर, म आफू एक्लैले छोरीको जीवन बचाउन सक्ने अवस्था छैन, कोही इष्टमित्र, साथीभाइ र मनकारी सहयोगीको सहयोग भएमा मात्र मेरो छोरीले जीवन पाउँछिन् ।’
सहयोग गर्न चाहने महानुभावले सलिनाकी आमा शान्ति राईको नाममा रहेको सप्तकोसी डेभलपमेन्ट बैक लिमिटेडको खाता नम्बर ०१३००००६२७०१५ मा रकम जम्मा गर्न सकिने छ भने विपिनको सम्पर्क नम्बर ९७०६६७१५८६ र ९८०७०८९४४८ रहेको छ ।