दमक,२६ पुस । नवजात शिशुको लापरवाहीका कारण मृत्यु भएको भन्दै दमकको आम्दा अस्पतालमा आज आक्रोशित समूहले तोडफोड गरेका छन् ।आक्रोशित भीडले अस्पतालको प्रसुति गृहमा तोडफोड गर्नुका साथै त्यहाँका सिसी क्यामेरा समेत फूटाएको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडका कारण अस्पताल परिषर दिउँसो निकै तनावग्रस्त बन्न पुगेको थियो । घटना प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार पाँचथरको तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्का र उनकी श्रीमती रोषा कट्वाललाई आइतबार राति १०ः३० बजे शल्यक्रियामार्फत पुत्र लाभ भएको थियो ।
नवजात शिशुको अवस्था आज बिहानसम्म सामान्य रहेको तर अचानक बिहान ९ बजे शिशुमा समस्या देखिएपछि समयमै उपचार नहुँदा नवजात शिशुको मृत्यु भएको पीडित खड्काको आरोप छ । सुत्केरी आमाको अवस्था समेत जटिल भई थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागिएको बताईएको छ ।
प्रनाउ गिरीको पहलमा पीडित पक्ष र अस्पताल प्रशासनबीच आज दिउँसो छलफल भई सहमति भएको बताइएको छ ।आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश शर्माले शिशुको उपचारमा सक्दो प्रयास गरे पनि बचाउन नसकेको भन्दै दुःख व्यक्त गरेका छन् ।