
झापा ,१९ पुस। पूर्व पश्चिम राजमार्गको विकल्पको रुपमा निर्माण सुरु भएको हुलाकी राजमार्गको झापा खण्ड निर्माणको अन्तिम चरणमा पुगे पनि पुल नबन्दा तत्काल सञ्चालनमा अवरोध देखिएको छ ।
राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ आठ ठूला नदीमा पुल निर्माणाधीन छन् । तीमध्ये कनकाई, रतुवा, विरिङ र कमल खोलाका पुल सम्पन्न हुन समय लाग्ने र सानोमाई, लेहरा, कृष्णे र भुतेनी खोलाका पुल निर्माण अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिनुभयो ।
उनका अनुसार विसं २०६८ मै हुलाकी सडक पर्ने कनकाई, रतुवा खोलाका पुल निर्माण सुरु गरिएको थियो तर, एक दशक बितिसक्दासमेत कार्य सम्पन्न नहुँदा राजमार्ग सञ्चालनमा अवरोध भएको हो । उनले मुलुकको राजनीतिक अस्थिरता र कोेरोना महामारीलगायतका कारणले पुल निर्माणमा ढिलाई भएको बताए । “जति ढिलो हुनु भइसक्यो”, उनले भने , “आर्थिक वर्ष विसं २०७९÷०८० को अन्त्यसम्ममा सडकभित्र रहेका सबै पुल निर्माण भइसक्ने गरी काम भइरहेको छ ।” जिल्लामा साना ठूला खोलामा गरी करिब २५ मीटर लम्बाइदेखि ६२४ मी लामो पुल निर्माण भइरहेको छ ।
सडक निर्माण अन्तिम चरणमा
भद्रपुरको मेची पुलदेखि मोरङको सिमानामा रहेको रतुवा खोलासम्म करिब ४८ मध्ये ३५ किलोमिटर कालोपत्रेसहितको सडक निर्माण सकिएको छ । इन्जिनियर खतिवडाले राजगढको जनता बजारदेखि कनकाई पुल छेउको कुञ्जिबारीसम्मको १३ किलोमिटर मात्र कालोपत्रे हुन बाँकी रहेको बताए । उनले चालु आर्थिक वर्षको अत्यसम्ममा झापा खण्डमा रहेको ४८ किलोमिटर नै सडक सम्पन्न हुने बताए ।
सो सडक दुई लेनको बनिरहेको छ । उनले बस्ती नभएको स्थानमा सात मिटर चौडाइ भएको र बाक्लो बस्ती भएको बजार क्षेत्रमा दुवै सडकको किनारमा नालीसहित १२ मिटरको सडक निर्माण भएको बताए । मेचीपुलदेखि राजगढको जनताबजारसम्मको २० किमी सडकको ठेक्का आशिष याक्थुमहाङ जेभी र जनताबजारदेखि रतुवा खोलासम्मको करिब २८ किलोमिटर पिएस गजुरमुखी मोतिदान जेभीले लिएका छन् ।
पूर्वमेचीदेखि पश्चिम महाकालीको चाँदनी दोधारा पुलसम्म एक हजार ६००मी को हुलाकी मार्ग निर्माणपछि तराई मधेशका सर्वसाधारणको जीवनस्तर उकास्न मद्दत पुग्ने देखिन्छ । सो सडक निर्माणलाई विभिन्न खण्डमा विभाजन गरेर काम भइरहेको उनको भनाइ छ ।
त्यसैगरी, हुलाकी सडकअन्तर्गतकै चारआली केचनासम्मको सडकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ४० किलोमिटर सडकमध्ये ३९ किलोमिटर सडकको निर्माण सकिएको उनले जानकारी दिए।